भेनेजुएलाबाट ३ करोडदेखि ५ करोड ब्यारेल कच्चा तेल अमेरिका ल्याउने ट्रम्पको घोषणा

भेनेजुएलाबाट ३ करोडदेखि ५ करोड ब्यारेल कच्चा तेल अमेरिका ल्याउने ट्रम्पको घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट ३ करोडदेखि ५ करोड ब्यारेल कच्चा तेल अमेरिका ल्याउने घोषणा गरेका छन्। मंगलबार गरिएको उक्त घोषणाअनुसार तेल बिक्रीको आम्दानी दुवै देशका जनताको हितमा खर्च गरिने ट्रम्पले बताए।

अहिलेको बजार भाउअनुसार यो सम्झौता करिब २ अर्ब ८० करोड डलरको हुने अनुमान छ। यसै विषयमा अमेरिकी तेल कम्पनीहरूसँग छलफल गर्न ह्वाइट हाउसले शुक्रबार विशेष बैठक बोलाएको छ।

तेल सम्झौताको घोषणासँगै भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीका कारण तनाव बढेको छ। लागुऔषधको अभियोग लागेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न अमेरिकाले चलाएको सैन्य अपरेशनका क्रममा ठूलो हताहती भएको छ।

भेनेजुएलाका अधिकारीहरूका अनुसार अमेरिकी कारबाहीमा कम्तीमा २४ जना सुरक्षा अधिकारी मारिएका छन्। महान्यायाधिवक्ता तारिक विलियम साबले यसलाई ‘युद्ध अपराध’ भन्दै अनुसन्धान सुरु गरिएको बताए। क्युबाले पनि आफ्ना ३२ जना सुरक्षाकर्मी मारिएको पुष्टि गरेको छ।

पेन्टागनले भने उक्त छापाका क्रममा आफ्ना ७ जना सैनिक घाइते भएको जनाएको छ। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजले ट्रम्पको कदमप्रति कडा आपत्ति जनाएको छ।

अमेरिकाले सन् २०२० मा मदुरोमाथि नार्को-आतङ्कवादको अभियोग लगाउँदै ५ करोड डलरको इनाम घोषणा गरेको थियो। अमेरिकाभित्रै गरिएको सर्वेक्षणमा भने मदुरो पक्राउको विषयमा जनमत विभाजित देखिएको छ।

पुष २३, २०८२ बुधबार १४:३६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।