भेन्यू सार्न गरेको बंगलादेशको प्रस्ताव आईसीसीद्वारा अस्वीकार, भन्यो- ‘नगए अंक बाँडिन्छ’

भेन्यू सार्न गरेको बंगलादेशको प्रस्ताव आईसीसीद्वारा अस्वीकार, भन्यो- ‘नगए अंक बाँडिन्छ’

एजेन्सी : आगामी महिनादेखि सुरु हुने पुरुष टी-२० विश्वकपमा बंगलादेशको सहभागितालाई लिएर अन्योल सिर्जना भएको छ।

भारतमा हुने खेलहरूमा सुरक्षाको कारण देखाउँदै बंगलादेश क्रिकेट बोर्ड(बीसीबी)ले आफ्नो देशका खेलहरू भारतबाहिर आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई अनुरोध गरेको थियो।

तर, आईसीसीले उक्त अनुरोध अस्वीकार गर्दै बंगलादेशलाई भारतमै गएर खेल्नुपर्ने स्पष्ट पारेको स्रोतले जनाएको छ।

ईएसपीएन क्रिकइन्फोका अनुसार मंगलबार भएको ‘भर्चुअल’ बैठकमा आईसीसीले बंगलादेशलाई भारतमै गएर खेल्नुपर्ने, अन्यथा अंक गुमाउन तयार हुनुपर्ने चेतावनी दिएको छ।

तर, बंगलादेश क्रिकेट बोर्डले भने आफूलाई त्यस्तो कुनै चेतावनी नआएको दाबी गरेको छ।

मंगलबारको बैठकको नतिजाबारे भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) वा बीसीबी कसैले पनि आधिकारिक जानकारी दिएका छैनन्।

बीसीबीले गत आइतबार मात्रै सुरक्षा चिन्ताका कारण आफ्ना खेलहरू भारतबाहिर सार्न आईसीसीलाई पत्राचार गरेको थियो।

२० राष्ट्र सहभागी हुने यो टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। समूह ‘सी’ मा रहेको बंगलादेशले आफ्ना सुरुवाती तीन खेल कोलकातामा खेल्ने तालिका छ।

फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इंग्ल्यान्डविरुद्धको खेलपछि आफ्नो अन्तिम खेल बंगलादेशले नेपालविरुद्ध फेब्रुअरी १७ मा मुम्बईमा खेल्दैछ।

बीसीबीले आईसीसीलाई पत्र लेख्नुको मुख्य कारण इन्डियन प्रिमियर लिग (आईपीएल) सँग जोडिएको छ।

डिसेम्बरमा भएको लिलामीमा कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई ९.२ करोड भारतीय रुपैयाँमा किनेको थियो।

तर, बीसीसीआईका सचिव देवजित सैकियाले केकेआरलाई मुस्ताफिजुरलाई ‘रिलिज’ गर्न (टोलीबाट हटाउन) निर्देशन दिएका थिए।

मुस्ताफिजुर २०२६ को लिलामीमा बिक्ने एकमात्र बंगलादेशी खेलाडी थिए। यही घटनापछि रुष्ट बनेको बीसीबीले सुरक्षाको कारण देखाउँदै विश्वकपका खेल सार्ने प्रस्ताव गरेको बुझिएको छ।

बीसीसीआईले मुस्ताफिजुरलाई हटाउनुको कारण भने खुलाएको छैन र आईपीएल गभर्निङ काउन्सिलको बैठक नबसीकनै यो निर्णय कसरी भयो भन्ने प्रश्न उठेको छ।

पुष २३, २०८२ बुधबार १४:१४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।