दया ‘पेन्सनपट्टा’को सुटिङमा, प्रकाशलाई चुनावकै चटारो : स्टार कलाकारले हेलाँ गर्दा ‘मिरमिरे’ निर्देशक तनावमा
काठमाडौं : अभिनेता दयाहाङ राईको व्यस्तता यतिबेला आकासिएको छ, चाहे फिल्म चलोस् वा नचलोस्। उनको ‘डेट’ पाउन निर्माता-निर्देशकलाई हम्मेहम्मे परिरहेको छ। यही व्यस्तताको मारमा अहिले परेको छ- माघ १ गते प्रदर्शन हुन लागेको फिल्म ‘मिरमिरे’।
आफ्नै फिल्मको प्रचारप्रसारमा हिँड्नुपर्ने बेला दयाहाङ भने ‘पेन्सनपट्टा’ को सुटिङमा व्यस्त छन्। त्यसपछि उनी दशकअघि साइन गरेको ‘मितज्यू’ र अशोक शर्माको ‘डबल त्रिपल’ को काममा लाग्ने सुरसारमा छन्। अशोक शर्मा त दशैं अगाडिदेखि नै दयाको बाटो कुरेर बसेका छन्।
मंगलबार ‘मिरमिरे’ को ट्रेलर रिलिज कार्यक्रममा झुल्किएका दयाहाङले स्पष्टै भनिदिए- ‘प्रमोसन गर्न भ्याउँदिनँ, सरी!’ उनले निर्माण टिमलाई यो कुरा पहिले नै जानकारी गराइसकेको र १० वर्षअघि एग्रिमेन्ट गरेको ‘मितज्यू’ लाई समय दिनुपर्ने बाध्यता सुनाए।
मिडियासँग माफी माग्दै उनले भने, ‘तपाईंहरूसँग भलाकुसारी गर्न नपाएकोमा माफी चाहन्छु, अलिकति ढिलै भएको छ मैले गर्नुपर्ने सिनेमाहरू।’
उता, फिल्मका अर्का अभिनेता प्रकाश सपुतको हालत पनि उस्तै छ। ट्रेलर रिलिजमा अनुहार त देखाए, तर उनी पनि प्रचारमा गायब छन्। कारण? फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन! रास्वपाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेपछि सपुतको ध्यान यतिबेला फिल्मको पर्दाभन्दा बढी ‘ब्यालेट बक्स’ तिर छ।
दुई मुख्य खम्बाले नै हात झिकेपछि अहिले फिल्मको प्रचारको सम्पूर्ण भार अभिनेत्री सिर्जना निङलेखुको काँधमा छ। उनी एक्लै दौडधुपमा छिन्। तर, नाम र दाम चलेका स्टारहरूको आसमा फिल्म बनाएका निर्देशक याम शेर्पाको भने पक्कै निद्रा हराएको छ।
प्रचार नै फितलो भएपछि कतै फिल्मको हालत पनि ‘अभिमन्यु : च्याप्टर वान’ जस्तै हुने त होइन? चिन्ताको विषय यही छ। अझ माघ १ मा ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ जस्ता फिल्मसँग भिडन्त गर्नुपर्ने चुनौती त छँदैछ। हेरौँ, ‘स्टार’ बिनाको प्रचारमा उत्रिएको ‘मिरमिरे’ ले बक्स अफिसमा कति उज्यालो छर्ने हो!
पुष २३, २०८२ बुधबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।