महिला टी-२० विश्वकप छनोटको तयारी : नेपालले आज अमेरिकासँग अभ्यास खेल खेल्दै
काठमाडौं : आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्नुअघि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (बुधबार) अमेरिकासँग अभ्यास खेल खेल्दैछ।
नेपालमा अर्को सातादेखि सुरु हुने विश्वकप छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बाब्बेसँग ‘प्रि-सिरिज’ खेल्न लागेको हो।
तालिकाअनुसार नेपालले आज अमेरिकासँग, शुक्रबार स्कटल्याण्डसँग र आगामी आइतबार जिम्माब्बेसँग अभ्यास खेल खेल्नेछ।
नेपालमा पहिलो पटक टेस्ट राष्ट्रको आगमन
नेपालमा आयोजना हुन लागेको यो प्रतियोगिता ऐतिहासिक हुनेछ।
प्रतियोगिताका लागि बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेका सिनियर महिला टोली नेपाल आउँदैछन्। कुनै पनि टेस्ट मान्यता प्राप्त राष्ट्रको राष्ट्रिय टोलीले नेपालमा खेल्न लागेको यो पहिलो पटक हो।
विश्वमा हाल १२ देशले टेस्ट मान्यता पाएका छन्, जसमध्ये अफगानिस्तानको महिला टोली छैन।
अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, श्रीलंका, पाकिस्तान र वेस्ट इन्डिजले सन् २०२६ मा इंग्ल्यान्डमा हुने विश्वकपमा स्थान बनाइसकेका छन् भने बाँकी स्थानका लागि बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेले नेपालमा हुने ग्लोबल क्वालिफायर खेल्न लागेका हुन्।
नेपाली महिला टोलीले घरेलु मैदानमा टेस्ट खेल्ने राष्ट्रको महिला टोलीसँग खेल्न लागेको पनि यो पहिलो अवसर हुनेछ।
समूह विभाजन र खेल तालिका
विश्वकप छनोटका लागि सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ:
समूह ‘ए’: बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका।
समूह ‘बी’: नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे।
नेपालले एसिया छनोट पार गर्दै पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको हो।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल जनवरी १८ मा थाइल्यान्डसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ। त्यस्तै, नेपाल र जिम्बाब्वेबीचको खेल माघ १० गते हुने तालिका छ।
छनोटको आधार
प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष ४ टोलीहरूले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन्।
पुष २३, २०८२ बुधबार ०७:३४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।