राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्दै कांग्रेस-एमाले, आजै उम्मेदवार टुङ्ग्याउने तयारी
काठमाडौं : पटक-पटकको छलफलपछि राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग तालमेल गर्ने निष्कर्षमा पुगेको नेपाली कांग्रेसले मंगलबारै राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू टुंगो लगाउने तयारी गरेको छ।
सोमबारको पार्टीको कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा हुनसक्ने चुनावी तालमेलबारे जानकारी दिँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमाले र नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य हुनसक्ने बताएका थिए। सोमबारै खड्का र केन्द्रीय सदस्य रमेश लेखकले तालमेलबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।
निरन्तरको छलफलपछि कांग्रेस-एमाले मिलेर राष्ट्रिय सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका थिए। सोही अनुसार उम्मेदवार टुङ्ग्याउन मंगलबार कांग्रेसको बैठक बसिरहेको छ। राष्ट्रिय सभामा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन्। तेस्रोमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी छ।
राष्ट्रिय सभामा प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन्।
पुष २२, २०८२ मंगलबार १७:१६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।