मंगलबारको सेयर बजार : ७ अर्ब १२ करोडको कारोबार, ११ उपसमूहमा हरियाली
काठमाडौं : मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९३ अंकले बढेर बन्द भयो। अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै नेप्से परिसूचक २६४९.३० विन्दुमा पुग्यो।
मंगलबार सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढ्यो भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लाग्यो। नेप्सेसँगै मंगलबार कारोबार रकममा समेत बढोत्तरी देखियो।
सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३३४ कम्पनीका ८८ हजार ३६२ पटकको कारोबारमार्फत ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता सेयर किनबेच भयो।
सेयर मूल्य वृद्धितर्फ यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढ्यो। त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य साढे ९ प्रतिशतले उक्लियो भने हिमालयन ८०-२० को इकाई मूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भयो। यता, रु रु जलविद्युत् परियोजनाको सेयर मूल्यमा भने सर्वाधिक ८.४१ प्रतिशतको गिरावट देखियो।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको मंगलबार २४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसैगरी, बुटवल पावर कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो भने शिवम् सिमेन्ट्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघ्यो।
१३ उपसमूहमध्ये मंगलबार ११ उपसमूहको परिसूचक बढ्यो भने २ उपसमूहको परिसूचक घट्यो। मंगलबार वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढ्यो। होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सामान्य घट्यो।
पुष २२, २०८२ मंगलबार १६:०८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।