सर्वपक्षीय बैठकको आह्वान : 'वीरगन्जको सद्भाव जोगाऔँ'

सर्वपक्षीय बैठकको आह्वान : 'वीरगन्जको सद्भाव जोगाऔँ'

वीरगन्ज : वीरगन्जमा उत्पन्न सामाजिक तथा धार्मिक आस्थासँग जोडिएको विवादलाई सद्भावपूर्ण ढंगले समाधान गर्नुपर्नेमा पर्साका राजनीतिक दलहरूले जोड दिए। जिल्ला प्रशासन कार्यालय पर्साको अग्रसरतामा मंगलबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा सामाजिक सद्भाव र अमनचयन कायम राख्न जिल्लावासीलाई आह्वान गर्यो।

नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो समय देखिएका समस्यालाई दुवै समुदाय मिलेर संवादबाट टुङ्ग्याउनुपर्ने धारणा राखे। समाजमा द्वेष फैलाउनु कुनै पनि पक्षको हितमा नहुने भन्दै उनले सदियौंदेखिको आपसी सद्भावलाई कायम राख्न आग्रह गरे।

“समाजमा आगो लगाउनु कुनै पक्षको हितमा हुँदैन। त्यसैले सबैले एकापसमा मिलेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसर हुन जरुरी छ,” उनले भने, “सदियौँदेखि चल्दै आएको सद्भावलाई कायम राखेर शान्ति अमनचयन गर्न आह्वान गर्दछु।”

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले हिन्दू पुरोहित र मुस्लिम धर्मगुरुहरूको सक्रियतामा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए। वीरगन्जमा विगत केही वर्षदेखि देखिँदै आएको समस्या समाधान गर्न सबै पक्षबीच हातेमालो हुनुपर्नेमा उनको जोड छ। “वीरगन्जमा विगत दुई/चार वर्षदेखि देखिएको यो समस्या समाधान गर्नका लागि सबै पक्ष हातेमालो गरेर अघि बढ्न जरुरत भइसकेको छ,” उनले भरे।

तत्कालीन एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पनि हाल यहाँ देखिएको समस्या मौलिक नभएर अन्य कुनै ठाउँको सिको गर्ने प्रवृत्तिले पनि समस्या उब्जाउने गरेको गुनासो गरे।

जनता समाजवादी पार्टी (जसपा)का युवा नेता तबरेज अहमदले विदेशी मुलुकमा भएको कुनै घटनामा आधारित भएर वीरगन्जमा विरोध प्रदर्शन लगायतका गतिविधि गर्न नहुने धारणा व्यक्त गरे। “अन्य मुलुकमा भएका घटनामा आधारित भएर वीरगन्जमा विभिन्न प्रकारमा विरोध र प्रदर्शनीका गतिविधि गर्दा यहाँ निकै अप्ठेरो परिरहेको छ,” उनले भने, “वीरगन्जलाई शान्ति क्षेत्र कायम गर्न सबैसँग अनुरोध गर्दछु।”

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गरेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसरता लिँदै आइरहेको बताए। उनले भने, “धार्मिक तथा सामाजिक युद्धले कसैलाई पनि फाइदा पुग्दैन। त्यसैले सबैले मिलेर एकताबद्ध हुन र शान्ति कायम गर्न सहयोग गर्न सबैलाई अनुरोध गर्दछु।”

पुष २२, २०८२ मंगलबार १५:४९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।