वीरगञ्जको कर्फ्यु साँझ ६ बजेसम्म लम्बियो
वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु आदेशको समय पुनः थप गरेको छ। मंगलबार दिउँसो १ बजेसम्मका लागि जारी गरिएको कर्फ्युलाई बढाएर आज साँझ ६ बजेसम्म पुर्याइएको हो।
पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्युलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा उल्लेख छ। तोकिएको समय र क्षेत्रभित्र भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न र हिँडडुल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
चार किल्ला यथावत
कर्फ्यु आदेश वीरगञ्ज महानगरपालिकाका देहायका क्षेत्रहरूमा लागू हुनेछ:
पूर्व: बसपार्क, नगवा, ईनर्वा
पश्चिम: सिर्सिया नदी
उत्तर: गण्डक चोक
दक्षिण: शंकराचार्य गेट
देख्नेबित्तिकै गोली हान्ने आदेश कायमै
प्रशासनले कर्फ्यु अवज्ञा गर्नेलाई सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्नेचेतावनीलाई निरन्तरता दिएको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन र निस्किनै परे १०० नम्बरमा फोन गरी सुरक्षाकर्मीसँग समन्वय गर्न अनुरोध गरिएको छ।
कर्फ्युको समयमा पनि एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई अवरोध हुनेछैन।
यसपटकको आदेशमा त्रिभुवन विश्वविद्यालयको पूर्व निर्धारित परीक्षाका परीक्षार्थी र परीक्षा केन्द्रमा खटिने कर्मचारीहरूलाई पनि प्रवेश पत्रका आधारमा आवतजावतमा सहजीकरण गरिने विशेष उल्लेख गरिएको छ। साथै, हवाई टिकट भएका यात्रुहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्नेछन्।
धार्मिक तथा सामाजिक विवादका कारण स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा र त्यसपछि कर्फ्यु आदेश जारी गरेको थियो।
पुष २२, २०८२ मंगलबार १३:११:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।