अमेरिकी पत्रिकाको दाबीपछि रिलायन्स इन्डस्ट्रिजले भन्यो- ‘जनवरीमा रुसबाट कुनै कच्चा तेल आउँदैन’

अमेरिकी पत्रिकाको दाबीपछि रिलायन्स इन्डस्ट्रिजले भन्यो- ‘जनवरीमा रुसबाट कुनै कच्चा तेल आउँदैन’

एजेन्सी : भारतीय निजी रिफाइनरी कम्पनी रिलायन्स इन्डस्ट्रिजले जनवरी महिनामा रुसबाट कच्चा तेलको कुनै पनि खेप नआउने स्पष्ट पारेको छ। कम्पनीले पछिल्लो तीन हप्तायता रुसबाट कुनै कार्गो प्राप्त नभएको पनि जनाएको छ।

ब्लुमबर्गले केप्लरको तथ्याङ्कलाई उद्धृत गर्दै रुसी तेल बोकेका तीनवटा जहाज जामनगर रिफाइनरीतिर जाँदै गरेको भन्ने समाचार छापेको थियो। सो समाचारको खण्डन गर्दै रिलायन्सले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेको छ।

कम्पनीले भनेको छ, ‘निष्पक्ष पत्रकारिताको दाबी गर्नेहरूले जनवरीमा रुसी तेल खरिद नगर्ने हाम्रो पूर्वघोषित बयानलाई बेवास्ता गर्दै गलत रिपोर्ट छापेर हाम्रो छवि बिगार्ने काम गरेकोमा हामी दुःखी छौँ।’

यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै एयर फोर्स वन विमानमा रहेका अमेरिकी सिनेटर लिन्डसे ग्राहमले भारतले रुसबाट तेल खरिद कम गरेको दाबी गरेका थिए।

उनले भनेका थिए, ‘ट्रम्पले भारतसँग कडा अडान लिएकै कारण आज भारतले रुसबाट निकै कम तेल खरिद गरिरहेको छ भन्नेमा म विश्वस्त छु।’

सोही विमानमा रहेका राष्ट्रपति ट्रम्पले पनि भारत र रुसबीचको व्यापारलाई लिएर कडा प्रतिक्रिया दिएका थिए। उनले यदि भारतले अमेरिकी कुरा नमानेमा छिट्टै ट्यारिफ बढाइने चेतावनी दिएका थिए।

अमेरिकाले यसअघि नै भारतमा ५० प्रतिशत ट्यारिफ लगाइसकेको छ, जसमध्ये २५ प्रतिशत ट्यारिफ रुसबाट तेल खरिद गरेको सजाय स्वरूप लगाइएको बताइएको छ।

पुष २२, २०८२ मंगलबार १३:०७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।