मादुरोलाई पक्राउ गरेकोमा ट्रम्पलाई धन्यवाद दिँदै भेनेजुएलाकी विपक्षी नेतृले भनिन्- ‘तानाशाहीमाथि न्यायको विजय भएको दिन’
काठमाडौं : भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मकाडोले आफू जतिसक्दो चाँडो भेनेजुएला फर्किने योजनामा रहेको बताएकी छन्।
अमेरिकी कारबाहीमा राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि सिर्जना भएको नयाँ परिस्थितिबारे बोल्दै उनले यस्तो बताएकी हुन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा सोमबार मकाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको खुलेर प्रशंसा गरिन्।
उनले ट्रम्पलाई ‘लागुऔषध-आतंकवादी शासन’ विरुद्ध ऐतिहासिक कदम चालेकोमा धन्यवाद दिँदै मादुरो पक्राउ परेको दिनलाई ‘तानाशाहीमाथि न्यायको विजय भएको दिन’का रूपमा इतिहासमा दर्ज हुने बताइन्।
उनले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कार ट्रम्पलाई समर्पित गर्ने निर्णयको समेत बचाउ गरिन्।
एक दशकभन्दा लामो समयदेखि यात्रा प्रतिबन्धमा रहेकी र एक वर्षदेखि लुकेर बसेकी मकाडोले गत डिसेम्बरमा नोबेल शान्ति पुरस्कार लिन नर्वेको ओस्लो पुगेकी थिइन्। उनले गत अक्टोबर १० यता ट्रम्पसँग आफ्नो कुनै कुराकानी नभएको स्पष्ट पारिन्।
यता, राष्ट्रपति ट्रम्पले भने मकाडोलाई अहिले नै भेनेजुएलाको नेतृत्व सुम्पन नसकिने संकेत गरेका छन्। ट्रम्पले मकाडोलाई नेतृत्व गर्न आवश्यक समर्थन र सम्मान नभएको टिप्पणी गरेका छन्।
ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार स्टिफन मिलरले मकाडोलाई अचानक देशमा लगेर इन्चार्ज बनाउनु हास्यास्पद र तर्कहीन हुने बताउँदै भेनेजुएलाको सेनाले उनलाई वैधानिक नमान्ने तर्क गरे।
अमेरिकाले हाल मादुरोकी सहयोगी तथा कामचलाउ राष्ट्रपति डेल्सी रोड्रिग्वेजसँग सहकार्य गरिरहेको छ, जसले अमेरिकासँग सहयोग गर्ने वाचा गरेकी छन्।
यसैबीच, भेनेजुएलाको राजधानी कराकसस्थित राष्ट्रपति भवन मिराफ्लोरेस आसपास सोमबार राति गोली चलेको आवाज सुनिएको छ।
अमेरिकी कारबाहीपछि उच्च सतर्कतामा रहेको राजधानीमा सुरक्षाकर्मीबीचको असमझदारीका कारण गोली चलेको बताइएको छ। भेनेजुएला सरकारले भने अनुमतिविना उडेका ड्रोनलाई प्रहरीले गोली हानेको र स्थिति सामान्य रहेको जनाएको छ।
अर्कोतर्फ, न्युयोर्कको अदालतमा पेश गरिएका मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसले आफूहरू निर्दोष रहेको दाबी गरेका छन्। उनीहरूका वकिलले अमेरिकी कारबाहीलाई सैन्य अपहरणको संज्ञा दिँदै मादुरोको गिरफ्तारीलाई कानुनी चुनौती दिने तयारी गरेका छन्।
ट्रम्प प्रशासनले भने आफूलाई भेनेजुएलाको इन्चार्ज दाबी गर्दै आवश्यक परे थप कारबाही गर्ने र त्यहाँको तेल उत्पादन पुनः सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ।
पुष २२, २०८२ मंगलबार १२:४८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।