टिकटकको चिनजानपछि ‘भाइ’ बनेर घर छिरेका युवकबाट विवाहित महिला बलात्कृत

टिकटकको चिनजानपछि ‘भाइ’ बनेर घर छिरेका युवकबाट विवाहित महिला बलात्कृत

काठमाडौं : सामाजिक सञ्जाल टिकटकमार्फत चिनजान गरी दिदी-भाइको सम्बन्ध गाँसेर घरमै बास बस्न आएका एक व्यक्तिले विवाहित महिलालाई बलात्कार गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पर्सा जिल्ला, सखुवाप्रसौनी गाउँपालिका-१ घर भई हाल बाराको सिमरा बस्ने ३२ वर्षीय सुबास कँडेलविरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबर्जस्ती करणीको कसुरमा अभियोग पत्र दायर गरेको हो।

न्युजिल्याण्डको गफ र टिकटकको चिनजान
अभियोग पत्रका अनुसार, पीडित महिला र प्रतिवादी सुबास कँडेलबीच करिब १२/१३ महिना अघि टिकटक मार्फत चिनजान भएको थियो। कँडेलले आफू वैदेशिक रोजगारीको सिलसिलामा न्युजिल्याण्डमा रहेको र त्यहाँ राम्रो कमाइ हुने भन्दै पीडितलाई प्रभावमा पारेका थिए।

कँडेलले पछि आफू नेपाल फर्किएको र बाराको सिमरास्थित सनराइज बैंकको भवनमा ‘ब्रिज एजुकेसन फाउण्डेसन’ सञ्चालन गरिरहेको बताएका थिए। दिदी-भाइको नाता लगाएर बोल्ने गरेका कँडेल २०८२ साल मंसिर ४ गते साँझ ६ बजेतिर पीडितलाई भेट्न भन्दै काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ स्थित पीडितको डेरामा आएका थिए।

पीडित महिलाले कँडेललाई आफ्नो श्रीमान्‌सँग ‘भाइ’पर्ने भनी चिनजान गराएकी थिइन्। टाढाबाट आएको र भाइ नाता लगाएको कारण विश्वास गरी सो रात उनलाई पीडितको घरमै बास दिइएको थियो।

भोलिपल्ट अर्थात् २०८२ मंसिर ५ गते बिहान पीडितका श्रीमान् काममा र छोरी स्कुल गएपछि घरमा पीडित र प्रतिवादी मात्र थिए।

अभियोग पत्रमा उल्लेख भएअनुसार, दिउँसो करिब १२ बजेको समयमा पीडित सुत्ने कोठामा प्रवेश गरी कँडेलले एक्कासी ढोका बन्द गरेर डर, त्रास र धम्की दिँदै जबर्जस्ती करणी गरेका थिए।

पीडितको बयान अनुसार, कँडेलले ‘यो कुरा कसैलाई भनिस् भने तेरो श्रीमान् मोटरसाइकलमा हिँडेको बेला मान्छे लगाएर मारिदिन्छु र तँलाई पनि सिध्याइदिन्छु’ भनी ज्यान मार्ने धम्की दिएका थिए।

सामाजिक सञ्जालबाट ब्ल्याकमेलिङ र पोल खुलेपछि उजुरी
घटनापछि कँडेलले सामाजिक सञ्जाल मार्फत पीडितलाई विभिन्न अश्लील शब्द प्रयोग गरी मानसिक यातना दिने र धम्की दिने क्रम जारी राखे।

पीडित डराएर बसेको अवस्थामा उनको व्यवहार परिवर्तन भएको देखेर श्रीमानले सोधखोज गर्दा घटना बाहिर आएको हो। श्रीमानको साथ र सहयोग पाएपछि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रहरी हिरासतमा रहेका प्रतिवादी सुबास कँडेलले भने अदालत समक्षको बयानमा घटना स्वीकार गरे पनि त्यो सहमतिमै भएको दाबी गरेका छन्।

उनले टिकटक र भिडियो कलमा आफूहरू बीच पहिलेदेखि नै अन्तरंग कुराकानी हुने गरेको, आफूहरू ‘भर्चुअल’ श्रीमान्-श्रीमती जस्तै रहेको र घटनाको दिन पनि पीडितकै आग्रहमा सिन्दुर हालेको जिकिर गरेका छन्। उनले पीडितको परिवारले थाहा पाएपछि मात्र आफूलाई फसाउन खोजिएको दाबी गरेका छन्।

प्रतिवादीले सहमति दाबी गरे पनि सरकारी वकिल कार्यालयले अनुसन्धानका क्रममा प्राप्त प्रमाण, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र पीडितको बकपत्रलाई आधार मान्दै यो जबर्जस्ती करणी नै भएको निष्कर्ष निकालेको छ।

अभियोग पत्रमा भनिएको छ- ‘विगत १/२ वर्ष अगाडिदेखि प्रेम सम्बन्धको नाटक गरी, विवाह गर्छु भनी विश्वास दिलाई ३५ वर्षीया विवाहित महिलालाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको पुष्टि हुन आयो।’

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ अनुसारको कसुर गरेको ठहर गर्दै सरकारी वकिल कार्यालयले कँडेललाई सोही संहिताको दफा २१९ (३) (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरेको छ। साथै, पीडितलाई मनासिब क्षतिपूर्ति भराउन समेत मागदाबी गरिएको छ।

यो मुद्दामा सहायक जिल्ला न्यायाधिवक्ता नृपराज खड्काले २०८२ साल पौष २१ गते काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका हुन्।

पुष २२, २०८२ मंगलबार ११:३५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।