४३ लागे दिलजीत : पाकिस्तानी अभिनेत्रीसँग काम गर्दा देशद्रोहीको आरोप, जसले बलिउडसँग पगडी साट्न मानेनन्

४३ लागे दिलजीत : पाकिस्तानी अभिनेत्रीसँग काम गर्दा देशद्रोहीको आरोप, जसले बलिउडसँग पगडी साट्न मानेनन्

एजेन्सी : पञ्जाबको एउटा सामान्य परिवारमा जन्मिएका चर्चित गायक तथा अभिनेता दिलजीत दोसांझ आज आफ्नो ४२औं जन्मदिन मनाउँदै छन्। एक साधारण गाउँले केटोबाट विश्वचर्चित कलाकार बन्नुसम्मको उनको यात्रा निकै प्रेरणादायी तर संघर्षपूर्ण रहेको छ।

बस चालक बुबा र गृहिणी आमाको कोखबाट जन्मिएका दिलजीतको बाल्यकाल आर्थिक अभावमा बित्यो, जसका कारण उनले १० कक्षासम्म मात्र पढ्न पाए। सानैदेखि संगीतमा रुचि राख्ने उनी गुरुद्वारमा कीर्तन गाउँथे।

उनको वास्तविक नाम दलजीत सिंह थियो। तर, आफ्नो गाउँको माटोको सम्मान बढाउन साथीको सुझावमा उनले आफ्नो नाम परिवर्तन गरी दिलजीत दोसांझ राखेका हुन्।

सन् २००४ मा पहिलो एल्बम निकाले पनि सुरुमा उनले सफलता पाएनन्। पछि ‘स्माइल’ र ‘पटियाला पेग’ जस्ता गीतले उनलाई चर्चित बनायो।

सन् २०११ मा फिल्ममा डेब्यु गरे पनि बक्स अफिसमा असफल भयो। तर, सन् २०१२ मा आएको ‘जट्ट एण्ड जुलियट’ले उनको किस्मत बदलिदियो र उनी पन्जाबी सिनेमाका सुपरस्टार बने।

‘बरु फिल्म छोड्छु तर पगडी छोड्दिनँ’
सन् २०१६ मा ‘उडता पन्जाब’बाट बलिउडमा प्रवेश गरेका दिलजीतलाई सुरुमा धेरैले ‘पगडी लगाउने मान्छे हिरो बन्न सक्दैन, फिल्म खेल्ने भए पगडी फुकाल्नुपर्छ’ भनेर उडाएका थिए।

तर, उनले ‘बरु फिल्म छोड्छु तर पगडी छोड्दिनँ’ भन्ने अडान लिए। उनको अभिनय र गायकीले अन्ततः आलोचकहरूको मुख थुनिदियो।

अहिले उनी बलिउड मात्र नभई अन्तर्राष्ट्रिय स्तरका स्टार बनेका छन्। अमेरिकाको प्रतिष्ठित ‘कोचेला म्युजिक फेस्टिभल’मा प्रस्तुति दिने उनी पहिलो पन्जाबी कलाकार हुन्।

सफलताको शिखरमा रहे पनि दिलजीत समय-समयमा विवादमा पनि तानिने गरेका छन्। भारतमा भएको किसान आन्दोलनमा खुलेर समर्थन गर्दा र अभिनेत्री कंगना रनावतसँगको सामाजिक सञ्जालको जुहारीले उनी चर्चामा आए।

अभिनेत्री रनावत सत्ताधारी भाजपा समर्थक थिइन् भने दिलजित किसानको न्यायको लागि आवाज उठाइरहेका थिए। भाजपा सरकारले किसानमाथि गरेको बर्बर दमनको उनी विरोध गरिरहन्थे।

यस्तै, पाकिस्तानी अभिनेत्रीसँग काम गरेको भन्दै उनलाई ‘देशद्रोही’को आरोप लाग्यो। भाजपाका केही नेता तथा कार्यकर्ता अनि फिल्म उद्योगकै भाजपा समर्थक कलाकारहरूले उनलाई देशद्रोहीको आरोप लगाए। केही त आतंकवादी समेत भन्न भ्याए।

यसका अलावा सोही विवादकै कारण आगामी फिल्म ‘बोर्डर २’ बाटसमेत उनलाई हटाउनुपर्ने माग उठेको थियो। साथै, गीतमा रक्सी र हतियार प्रवर्द्धन गरेको तथा हालैको कन्सर्टमा महँगो टिकट बेचेको आरोप पनि उनीमाथि लागेको छ।

तमाम विवादका बाबजुद दिलजीतले आफ्नो पन्जाबी संस्कृति, पहिरन र भाषालाई विश्वसामु गर्वका साथ प्रस्तुत गरेर एक अलग पहिचान बनाएका छन्।

पुष २२, २०८२ मंगलबार १०:०५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।