खुट्टामा नेल लगाइएका मादुरो अमेरिकी अदालतमा; भने- ‘मलाई अपहरण गरियो, म अपराधी हैन राष्ट्रपति हुँ’

खुट्टामा नेल लगाइएका मादुरो अमेरिकी अदालतमा; भने- ‘मलाई अपहरण गरियो, म अपराधी हैन राष्ट्रपति हुँ’

न्युयोर्क : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार राति अमेरिकाको न्युयोर्कस्थित संघीय अदालत (फेडेरल कोर्ट)मा पेश गरियो।

अदालतमा उपस्थित गराइएका उनले आफूमाथि लागेका लागुऔषध र हतियार तस्करीसम्बन्धी सम्पूर्ण आरोपहरू अस्वीकार गरे भने आफ्नो गिरफ्तारीलाई ‘गैरकानुनी’ बताउँदै आफूलाई अपहरण गरिएको उल्लेख गरे।

पहिलो सुनवाइमै उनले आफू निर्दोष रहेको दाबी गरे।

‘म अपराधी होइन, राष्ट्रपति हुँ’
अदालतमा बोल्दै मादुरोले भने, ‘म अपराधी होइन। म एक सम्मानित व्यक्ति हुँ र अहिले पनि आफ्नो देशको राष्ट्रपति हुँ।’

उनका वकिलहरूले अमेरिकी कारबाहीलाई ‘सैन्य अपहरण’ को संज्ञा दिएका छन्। उनीहरूले यो घटना अन्तर्राष्ट्रिय कानुन र कानुनी प्रक्रियाको ठाडो उल्लङ्घन भएको तर्क गरे।

मादुरो पक्षका वकिलहरूले अमेरिकी एजेन्सीहरूले विदेशी भूमिमा गएर अवैध कारबाही गरी पक्राउ गरेको भन्दै अमेरिकी अदालतको क्षेत्राधिकारलाई नै चुनौती दिने तयारी गरेका छन्।

मुद्दाको अर्को सुनुवाइ मार्च १७ मा हुनेछ।

सुनुवाइका क्रममा मादुरोको खुट्टामा नेल लगाइएको थियो। उनी र उनकी श्रीमती सिलिया फ्लोरेस एउटै टेबलमा बसेका थिए। दुवैले अदालतको कारबाही आफ्नो भाषामा बुझ्न हेडफोन लगाएका थिए।

श्रीमती सिलिया फ्लोरेसको अनुहारमा चोटका निशानहरू थिए र पट्टी बाँधिएको थियो। उनले पनि आफूलाई भेनेजुएलाको ‘प्रथम महिला’ बताउँदै सबै आरोप अस्वीकार गरिन्।

अमेरिकी लागुऔषध नियन्त्रण एजेन्सीको टोलीले मादुरोलाई हेलिकप्टरबाट न्युयोर्क ल्याएको थियो र त्यहाँबाट बख्तरबन्द गाडीमा राखेर अदालत पुर्याएको थियो।

के छन् आरोपहरू?
मादुरो र उनका सहयोगीहरूमाथि लागुऔषध तस्कर र आतंकवादी समूहहरूसँग मिलेर अमेरिकामा कोकिन पठाउने षड्यन्त्र गरेको आरोप छ।

साथै, मादुरोमाथि मेसिनगन राखेको आरोप पनि छ, जसका लागि लामो जेल सजाय हुन सक्छ।

आरोप पत्रमा मादुरोका छोरा निकोलस मादुरो गुएरा, गृहमन्त्री डियोसडाडो काबेलो र कुख्यात ग्याङ ‘त्रेन दे अरागुआ’ का नाइके हेक्टर गुरेरो फ्लोरेसको नाम पनि समावेश छ।

मादुरोको सुनुवाइ भइरहँदा अदालत बाहिर सयौँ मानिस जम्मा भएका थिए। एकातिर अमेरिकी कारबाहीको विरोध भइरहेको थियो भने अर्कोतिर मादुरो विरोधीहरूले नाराबाजी गरिरहेका थिए।

सुनुवाइ सकेर निस्कने क्रममा ग्यालरीमा बसेका एक व्यक्तिले मादुरोलाई ‘तिमीले आफ्ना अपराधको मूल्य चुकाउनुपर्नेछ’ भनेपछि मादुरोले ‘म आफ्नो स्वतन्त्रता हासिल गरेरै छाड्नेछु’ भनी जवाफ फर्काएका थिए।

भेनेजुएलाको राजधानीमा गोली चल्यो
यता, मादुरो अमेरिकाको अदालतमा पेश भइरहँदा भेनेजुएलाको राजधानी कराकसमा सोमबार साँझ गोली चलेको र एन्टी-एयरक्राफ्ट फायरिङको आवाज सुनिएको छ।

राष्ट्रपतीय भवन नजिकै एउटा ड्रोन उडेको देखेपछि सुरक्षाकर्मीबीच भ्रम सिर्जना हुँदा गोली चलेको बताइएको छ। अमेरिकाले भने यस घटनामा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेको छ।

मादुरो पक्राउ परेपछि भेनेजुएला सरकारले देशमा संकटकाल लागू गरेको छ। सरकारले अमेरिकी आक्रमणको समर्थन गर्ने जो कोहीलाई तत्काल खोजी गरी पक्राउ गर्न प्रहरीलाई कडा निर्देशन दिएको छ।

अमेरिकी सैनिकले गत जनवरी २ को राति भेनेजुएलाबाट मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो।

पुष २२, २०८२ मंगलबार ०९:३५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।