वीरगञ्जमा दिउँसो १ बजेसम्मका लागि लम्बियो कर्फ्यू, अटेर गरे देख्नेबित्तिकै गोली हान्ने आदेश
काठमाडौं : धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशको समय लम्ब्याएको छ।
सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यूको समय थप गरी मंगलबार दिउँसो १ बजेसम्म पुर्याइएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कर्फ्यूलाई निरन्तरता दिइएको जानकारी दिए।
प्रशासनले जारी गरेको आदेशमा कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने चेतावनी समेत दिएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई सूचित गरेको छ। यदि निस्किनै परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गर्न आग्रह गरिएको छ।
यद्यपि, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारी र हवाई टिकट भएका यात्रुहरूलाई भने सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिकाका देहायका क्षेत्रहरूमा आवतजावत, भेला, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ:
पूर्व: बसपार्क, नगवा, ईनर्वा
पश्चिम: सिर्सिया नदी
उत्तर: गण्डक चोक
दक्षिण: शंकराचार्य गेट
केही दिनअघि जनकपुरमा टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि सुरु भएको विवादको असर वीरगञ्जसम्म फैलिएको हो। जनकपुरमा दुई युवाले साम्प्रदायिक सद्भाव खलबलिने भिडियो बनाएको आरोपमा पक्राउ परेका थिए भने सोही क्रममा झडपको स्थिति सिर्जना भएको थियो।
त्यही घटनालाई लिएर वीरगञ्जमा आइतबारदेखि निरन्तर प्रदर्शन हुन थालेपछि स्थिति अशान्त बनेको थियो। सम्भावित अप्रिय घटना रोक्न प्रशासनले सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा र साँझदेखि कर्फ्यु लगाएको हो। हाल पर्सासहित मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
पुष २२, २०८२ मंगलबार ०९:११:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।