निर्वाचन आचारसंहिता कार्यान्वयनमा सामाजिक सञ्जाल मुख्य चुनौती, नियमनमा कडाइ गर्ने आयोगको तयारी

निर्वाचन आचारसंहिता कार्यान्वयनमा सामाजिक सञ्जाल मुख्य चुनौती, नियमनमा कडाइ गर्ने आयोगको तयारी

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना र दुष्प्रचार रोक्न विशेष जोड दिने भएको छ।

सोमबार आयोगमा बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकमा सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा चुनौती थपेको निष्कर्ष निकाल्दै यसको नियन्त्रणका लागि प्रभावकारी संयन्त्र बनाउने विषयमा छलफल भएको हो।

समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुन शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालको नियमन महत्त्वपूर्ण भएको बताए। उनले आचारसंहिता कार्यान्वयनमा प्रविधिको दुरुपयोग रोक्न प्रभावकारी संयन्त्रसहित नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँगको सहयोग र सहकार्य अपरिहार्य रहेको धारणा राखे।

यस्तै, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले राजनीतिक दलहरूसँग परामर्श गरेर मात्र आचारसंहिता लागू गरिने बताउनुभयो। उहाँले निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना तथा भ्रमपूर्ण जानकारी न्यूनीकरणमा आयोग सचेत रहेको प्रस्ट पारे।

अनुगमन समितिका संयोजक एवं आयुक्त सगुन शम्शेर जबराले विगतका कमजोरीलाई सुधार गरी यस पटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा गुणात्मक उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे। उनले निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि सूचना प्रविधिको दुरुपयोगबाट हुने चुनौती रोक्न आयोगले सबै पक्षसँग सहकार्य गर्ने बताए।

बैठकमा आचारसंहिताको प्रभावकारी पालनाका लागि सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मक विधिहरूलाई एकसाथ अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। बैठकमा विभिन्न मन्त्रालयका सचिवहरू एवं सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति थियो।

पुष २२, २०८२ मंगलबार ०८:५९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।