जनप्रतिनिधिले नै भत्काए सडकको ढलान

जनप्रतिनिधिले नै भत्काए सडकको ढलान

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका-७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरी निर्माण गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन्।

दरवाङ-मुना-ढोरपाटन सडक आयोजनाअन्तर्गत ह्युम पाइप राख्ने पर्खालको जगमा पिसिसी ढलान गर्दा गुणस्तरहीन सामग्री भेटिएपछि उक्त संरचना भत्काइएको हो।

स्थानीयको गुनासोपछि गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरसहितको टोली सोमबार अनुगमनमा पुगेको थियो।

पूर्वाधार विकास कार्यालयका प्राविधिकसहित पुगेको टोलीले ढलानमा माटो मिसिएको गिट्टी प्रयोग भएको पुष्टि गरेपछि निर्माण भइसकेको संरचना भत्काउन र तयार पारिएको गुणस्तरहीन मसला फ्याँक्न लगाएको हो।

प्रदेशसभा सदस्य जुग्जालीले भने, ‘निर्माणस्थलमा तयार पारिएको मसलामा सडक ग्राभेल गर्न कुटेको बेस (माटो मिसिएको) हालेको भेटियो। गुणस्तरमा सम्झौता भएको पाइएपछि तत्काल भत्काउन लगाएका हौँ।’

उनले निगरानी बढाउन पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिइएको बताए।

स्थानीयको सक्रियतामा रोकियो बेथिति
स्थानीयवासी विश्वास कुमाईले ढलानमा प्रयोग भएको सामग्रीमा शङ्का लागेर ठेकेदारलाई सचेत गराउँदा पनि अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नुका साथै जनप्रतिनिधिलाई खबर गरेका थिए।

निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले भने कामदारको लापरबाहीले ग्राभेलका लागि तयार पारेको बेस ढलानमा प्रयोग भएको स्वीकार गरे। उनले आगामी दिनमा यस्तो कमजोरी नदोहोर्याउने र गुणस्तरमा संवेदनशील हुने प्रतिबद्धता जनाएका छन्।

पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले लिखित निर्देशन दिँदादिँदै पनि ठेकेदार पक्षबाट कमजोरी भएको बताए।

यो सडक खण्ड निर्माणका लागि ‘रामसागर बिके एस केबीएस धवलागिरि जेभी’ले २०८१ जेठ २० गते १४ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। मध्यपहाडी लोकमार्गको विकल्प मानिने बेनी-दरवाङ-ढोरपाटन सडकको धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्रे र ग्राभेल गर्ने काम भइरहेको छ।

हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यो आयोजना रणनीतिक महत्त्वको मानिन्छ। निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्रै ८ मिटर फराकिलो सडक, नाली र पर्खाल निर्माणको काम सक्ने दाबी गरेको छ।

यो सडकले म्याग्दीको धवलागिरि, मालिका गाउँपालिकाका साथै बागलुङ र पूर्वी रुकुमलाई जोड्नेछ, जसले पोखरा–काठमाडौँको यात्रा ७० किलोमिटर छोट्याउने छ।

पुष २२, २०८२ मंगलबार ०८:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।