बक्स अफिस अपडेट : करोडौं लगानी, लाखको व्यापार
काठमाडौं : चलचित्र विकास बोर्डले पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार गत कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा अझै आफ्नो उपस्थिति कायम राख्दै १८ करोडको आँकडा नजिक पुगेको छ।
बोर्डको शनिबार रातीसम्मको रिपोर्टअनुसार ‘परान’ले १७ करोड ७१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। दशौं हप्तामा प्रवेश गरेको यो फिल्मको कमाई अझै बढ्ने देखिन्छ। दीपक आचार्य काकु निर्देशित यस फिल्ममा नीर शाह, अञ्जना बराइली, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ।
सन्तानले देशमा भविष्य नदेखेपछि विदेशिन थालेको र गाउँमा रहेका बुबा आमाको चाहानालाई लत्त्याएको कथामा निर्माण भएको फिल्म हो। यसलाई समीक्षात्मक हिसाबले सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया प्राप्त भएको थियो।
हलमा प्रदर्शनरत फिल्ममध्ये कमाई गर्ने दोस्रो फिल्म ‘झरीपछिको इन्द्रेणी’बनेको छ। यो फिल्मले शनिबार रातिसम्म बक्स अफिसमा ९३ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। पुस १९ गते सम्मको फिल्मले २९ हजार ६८३ वटा टिकट बेचेको छ।
गत हप्ता फिल्मले ६२ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको थियो। फिल्म प्रदर्शनमा आएको १६ औँ दिनसम्म फिल्मले १ करोडको आंकडा छुन सकेको छैन। हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गरेको यस फिल्ममा गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, प्रियना आचार्य (मुन्नी)लगायतको अभिनय रहेको छ।
मंसिर १६ गतेबाट हलमा लागेको एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’को २८ लाख ग्रस कलेक्सन गरेको छ। शनिबार रातिसम्म यो फिल्मको आठ हजार ८६८ वटा टिकट विक्री भएका छन्। साढे २ करोडभन्दा बढी लागतमा निर्माण भएको यस फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, नीर शाह लगायतको मुख्य भूमिका रहेको छ।
यता कामेश्वर चौरासिया अभिनीत फिल्म ‘अभिमन्यु’ले साढे २१ लाख ग्रस कलेक्सन गरेको छ। यसको टिकटमा छ हजार ८९२ बिकेका छन्। यस फिल्मलाई संगीतका सुशान्त गौतमले निर्देशन गरेका हुन् भने अभिनयमा कामेश्वरका अलावा लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, प्रकाश दाहाल, सेविका अधिकारी लगायतको छ। फिल्मको लगानी विनोद पौडेल टिमले गरेको हो।
यता शोभित बस्नेत निर्देशित फिल्म‘पीआर’को ग्रस कलेक्सन ६ लाख ८२ हजार ग्रस कलेक्सन छ। नव नायक नायिका लिएर निर्माण गरिएको यो फिल्मको टिकट दुई हजार १६६ वटा विक्री भएका छन्। अष्ट्रेलियामा ६० प्रतिशत सुटिङ भएको यो फिल्मको नेपालमा ४० प्रतिशत भएको थियो। अष्ट्रेलियामा नै पीआर पाएर बसेका सुरज पौडेल, विनीता कार्की लगायतलाई राखेर निर्देशक बस्नेतले फिल्म निर्माण गरेका थिए।
दश वर्षअघि प्रदर्शनमा आएको हिट फिल्म ‘मुगलान’लाई सापटी लिएर नयाँ बनेको फिल्मले खासै गतिलो व्यापार गर्न सकेन। प्रभात पाल ठकुरी र स्मारिका ढकालको मुख्य भूमिका रहेको नयाँ ‘मुगलान’ दुई हजार २८८ वटा टिकट बिक्री ६ लाख ग्रस कलेक्सन गरेको छ। गत पुस १० गतेबाट प्रदर्शनमा आएको यो फिल्ममा प्रभात र स्मारिकाका अलावा रामचन्द्र अधिकारी, दिनेश डीसी, सविन बास्तोलाको पनि अभिनय रहेको छ।
रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई आशिष ढकालको पटकथा र निर्देशनमा तयार भएको हो। फिल्मलाई लगानी गोमन सिंहले गरेका हुन् भने यस फिल्मको सहायक निर्मात्री रिता चौधरी छन्।
पुष २१, २०८२ सोमबार २१:२७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।