‘पपुलिष्ट’को संज्ञा दिइएपछि रवि असन्तुष्ट : भने-  गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस्

‘पपुलिष्ट’को संज्ञा दिइएपछि रवि असन्तुष्ट : भने-  गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक शक्तिहरूको एकतालाई ‘पपुलिष्ट’ र ‘राजनीतिक अपरिपक्वता’को संज्ञा दिइने गरेकोमा असन्तुष्टि जनाए।

सोमबार काठमाडौंमा आयोजित रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरूमाथि लागेका आरोप र गालीलाई नै समृद्धिको सिँढी बनाउने उद्घोष गरे।

वैकल्पिक राजनीतिमा जोडिन आएका विभिन्न शक्तिहरूलाई स्वागत गर्दै लामिछानेले भने, ‘हामीले विभिन्न आरोपहरू खेपेका छौं। कतिपयले पपुलिष्टहरु मिले। यिनीहरूमा राजनीतिक परिपक्वता छैन भनेको पनि सुन्नु परेको छ। हामीलाई गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस्। हामी त्यो गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पूरा गरेर छोड्ने छौं।’

पुराना राजनीतिक दलहरूले आफ्नो असक्षमता लुकाउन नयाँ शक्तिलाई आरोपित गरिरहेको उनको भनाइ छ। मुलुकको जर्जर अवस्था पुग्नुमा पुराना दलहरू नै जिम्मेवार रहेको उल्लेख गर्दै उनले अहिले उनीहरू परिवर्तनहरूलाई स्वीकार गर्न डराइरहेको टिप्पणी गरे। निर्वाचनमार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने बताउँदै उनले त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्ने दाबी गरे।

"निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनुहोस्। चलखेल नगर्नुहोस् । हात लम्काउने चम्काउने नगर्नुहोस्। निर्वाचनमार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने छन्। त्यो अभिमतमार्फत नयाँ इतिहास कोर्नु छ। त्यो इतिहासमा सक्नुहुन्छ भने योगदान दिनुहोस्। सक्नुहुन्न भने बिथोल्ने काम नगर्नुहोस्," उनले भने। 

पुष २१, २०८२ सोमबार १९:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।