रास्वपा समानुपातिकका उम्मेदवार र निर्मल पुर्जाविरुद्ध डेढ करोड क्षतिपूर्ती भराउने जिल्लाको फैसला उच्चबाट सदर

रास्वपा समानुपातिकका उम्मेदवार र निर्मल पुर्जाविरुद्ध डेढ करोड क्षतिपूर्ती भराउने जिल्लाको फैसला उच्चबाट सदर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिकतर्फ प्रस्तावित सांसद  मिङमा ग्याबु शेर्पाको कम्पनी इलाइट हिमालयन एडभेन्चरको लापरबाहीले आगलागी भएर घरमा क्षति पुगेको घटनामा जिल्ला अदालत काठमाडौँले क्षतिपूर्ति दिन गरेको फैसला उच्च अदालत पाटनबाट सदर भएको छ।

मिङमासहित निर्मल पुर्जाको समेत लगानी भएको सो कम्पनीले कार्यालय प्रयोजनका लागि भाडामा लिएको घरमा अनधिकृत रूपमा ग्याँस भण्डार गर्दा भएको आगलागीमा कपनमा रहेको घर पूर्ण रूपमा ध्वस्त भएको थियो भने तीन जनाको ज्यान गएको थियो। जिल्ला अदालतले  एक करोड १३ लाख क्षतिपूर्ति भराउने फैसला गरेपछि कम्पनी उच्च अदालतमा पुनरावेदनका लागि गएकोमा घरधनीकै पक्षमा फैसला आएको हो।   

सोमबार उच्च अदालतका न्यायाधीशद्वय केशवप्रसाद बास्तोला र तेजेन्द्र शर्मा सापकोटाको संयुक्त इजलासले २०७९ असोज ५ गतेको घटनामा पूर्णरुपमा घर ध्वस्त भएकाले भाडावालाको लापरबाहीले भएको घटनामा क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। इलाइटविरुद्ध टंकबहादुर घिसिङ र दालमु कित्तर घिसिङले क्षतिपूर्ति माग्दै जिल्ला अदालत गएका थिए। उनीहरूले तीन करोड बढी क्षतिपूर्तिको माग गरे पनि अदालतले भने एक करोड ३३ लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो।

मुद्दा परेपछि काठमाडौं जिल्ला अदालतले कम्पनीको सेयर कारोबारसहित सञ्चालकको नाममा रहेको जग्गा रोक्का  राखेको थियो। उकेराले सो घरमा भएको शंकास्पद विस्फोट र तीन जनाको मृत्युबारे विस्तृत खोजबिनसहित समाचार प्रकाशित गरेको थियो।

विस्फोटको कारक र कारण खोज्नेक्रममा पुर्जा बेलायती नागरिक भए पनि नेपाली नागरिकता प्रयोग गर्ने गरेको र नेपाली पासपोर्ट समेत बनाएको खुलेपछि उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। उकेराले समाचार प्रकाशित गरेपछि निर्मल पुर्जाले नेपाली नागरिकता त्यागेका थिए।

पुर्जाले हिमाल आरोहणको क्रममा गरेको यौन दुर्व्यवहारको घटनाहरूबारे न्यूयोर्क टाइम्सले अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो।

पुर्जाको कार्यालय रहेको फ्ल्याटमा भएको विस्फोटन शङ्कास्पद देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरे पनि टुङ्गोमा पुग्नै सकेन।

आफू विरुद्धको अनुसन्धान प्रभावित पार्न नेपाल आएको बेलामा पुर्जाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि तत्कालीन गृहमन्त्री रवि लामिछानेसम्मलाई भेटेका थिए। अहिले रविले उनकै पाट्नरलाई समानुपातिक सूचीमा राखेका छन्।

तीन जनाको ज्यान गयो, घर क्षतविक्षत

२०७६ मङ्सिर १ मा सम्झौता गरेर घिसिङको तीन तले घरको पहिलो भुईँ तलामा इलाइट हिमालयन एडभेञ्चर प्रालिको कार्यालय र ट्रेकिङको सामान भण्डारण गरेका थिए।

२०७९ असोज ५ मा त्यही घरमा एक्कासि आगो लाग्यो। आगो मात्र लागेन, शङ्कास्पद विस्फोटहरू समेत भए। घर पुनर्निर्माण गर्नै नसक्ने गरी क्षतविक्षत भयो। त्यही घरमा रहेका इलाइटका चार कर्मचारी गम्भीर घाइते भए।

ताप्लेजुङका २९ वर्षीय तेन्जिङ शेर्पा, सोलुखुम्बुका २४ वर्षीय छेवङ शेर्पा र सङ्खुवासभाका ३२ वर्षीय अशोक राईको मृत्यु भयो। कुशल बुढाथोकी उपचारपछि निको भए।

घरको अवस्था पुनर्निर्माण गर्नै नसक्ने देखियो। घिसिङले पाँच करोड रुपैयाँ मागे। इलाइटले अस्वीकार गरेको थियो।

नक्कली विवाह र नागरिकतासम्म

यो घटनामा मारिएका तीनमध्ये एक थिए तेन्जिङ शेर्पा। कम्पनीका सञ्चालकमध्येका एक मिङमा डेभिड शेर्पाका भाइ हुन् उनी। उनको मृत्यु भएसँगै युवन्तिका राई आफू तेन्जिङको श्रीमती भएको दाबी गर्न आइन्।

भाइ अविवाहित रहेको र विवाहबारे घरमा कसैलाई जानकारी नभएको भन्दै शेर्पा परिवारले अस्वीकार गर्यो। उनले स्थानीय तहमा गएर नाता प्रमाणितसमेत बनाइन्। तर अन्तमा युवन्तिका आफैँ नक्कली नागरिकताको घटनामा जोडिइन्।

उनले जसलाई आफ्नो बाबु भनेर नागरिकता बनाएकी थिइन् उनी उनको छोरी देखिइनन्। अन्तमा जिल्ला अदालत चितवनमा उनी विरुद्ध नक्कली नागरिकताको मुद्दा चल्यो। उनी धरौटीमा छुटिन्। मुद्दा विचाराधीन अवस्थामै छ।

विस्फोट कसरी? रहस्यमै

आगलागीपछि घरमा जसरी विस्फोटको आवाजहरू आयो अनि जुन प्रकारको भौतिक क्षति भयो त्यो आगलागीबाट मात्रै सम्भव थिएन। इलाइटको गोदाममा हिमाल आरोहणमा प्रयोग हुने केही साना ग्यास सिलिन्डरहरू थिए, ती सबै विस्फोट भएको थिएन। केही खाना पकाउने ग्याँसका सिलिन्डर पड्किए। अधिकांश जोगिए। तर विस्फोट निकै भयानक थियो।

घरमा जुन प्रकारको विस्फोट भएको थियो त्यसले साना अक्सिजन ग्यासका सिलिन्डर र खाना पकाउने ग्याँस मात्र कारण देखिएको थिएन। सञ्चालक मिङमा आफैँले पनि विस्फोट र त्यसबाट भएको क्षतिप्रति शङ्का गर्दै भनेका थिए 'मेरो भाइको मृत्युको कारण जान्न मलाई पनि मन छ।' घरबेटी घिसिङको भनाई पनि उस्तै थियो।

विस्फोट शङ्कास्पद देखिएको भन्दै प्रहरी वृत्त बौद्ध अनि केन्द्रीय अनुसन्धान ब्युरोले समेत घटनाबारे अनुसन्धान गरेको थियो। तर निष्कर्ष केही आएन।

उकेराले केही प्राविधिक अनि विस्फोटबारे जानकार व्यक्तिलाई घटनास्थल लगेर पनि देखाएको थियो। उनीहरू केवल अक्सिजन ग्याँसको सिलिन्डर मात्र पड्किएकोमा विश्वस्त हुन सकेका थिएनन्। के पड्कियो ? अनुमान गर्न सक्ने अवस्था पनि देखिएन। अहिलेसम्म पनि यो घटना अनुसन्धानमै देखियो।

पुर्जा सम्बन्धित समाचार

पुष २१, २०८२ सोमबार १९:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।