पुराना नेताहरूलाई रविको कटाक्ष : योभन्दा गएगुज्रेको बहिर्गमनको सपना नदेख्नुहोस्

पुराना नेताहरूलाई रविको कटाक्ष : योभन्दा गएगुज्रेको बहिर्गमनको सपना नदेख्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूको असक्षमता र कुशासनका कारण मुलुक जर्जर अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा बोल्दै उनले पुराना दलहरूले परिवर्तनलाई स्वीकार गर्न नसकेको आरोप लगाए। उनले स्थापित दलहरूलाई आफ्नो असक्षमता स्वीकार गर्दै मुलुकलाई थप संकटतर्फ नधकेल्न चेतावनी दिए। 

उनले भने, "पुराना दलहरूले परिवर्तनलाई अस्वीकार गरिरहेको देखिरहेको छु। म विनम्रतापूर्वक भन्न चाहन्छु- स्वीकार्नुहोस्, आफ्नो असक्षमतालाई स्वीकार्नुहोस्। मुलुक जर्जर अवस्थामा पुगिसकेको छ।"

दशकौंदेखि सत्तामा रहेका दलहरूकै कारण देश कुशासनको चपेटामा परेको उल्लेख गर्दै उनले बहिर्गमन भइसकेको अवस्थामा अब थप बल प्रयोग नगर्न भने। "तपाईंहरूले कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनुभयो, अब थप जोडबल नगर्नुहोस्," उनले भने, "योभन्दा गए गुज्रेको बहिर्गमनको सपना नदेख्नुहोस्। यो अपदस्थताको पराकाष्ठा हो, यसभन्दा पर नसोच्नुहोस्।"

राजनीतिक दाउपेच र चलखेलले जनमतको अपमान हुने भन्दै उनले अबको निकास निर्वाचन नै भएको जिकिर गरे। सहज रूपमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको उनको तर्क छ। लामिछानेले थपे, "निर्वाचनमा मुलुकलाई सहजरूपमा जान दिनुहोस्, चलखेल नगर्नुहोस्।"

पुष २१, २०८२ सोमबार १८:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।