बालेनको आग्रहपछि राजनीतिमा आउन तयार राणाको प्रष्टीकरण- ‘उद्योग र अर्थतन्त्रको आवाज बोल्न संसद जान चाहन्छु’

बालेनको आग्रहपछि राजनीतिमा आउन तयार राणाको प्रष्टीकरण- ‘उद्योग र अर्थतन्त्रको आवाज बोल्न संसद जान चाहन्छु’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा नाम समावेश भएपछि आलोचना खेपिरहेकी व्यवसायी तथा ‘गोल्डस्टार’ जुत्ता कम्पनीकी निर्देशक विदुषी राणाले आफ्नो उद्देश्य स्पष्ट पारेकी छन्।

गायिका त्रिशाला गुरुङ, व्यवसायी सचिन ढकाल र मिडियाकर्मी आसिफ शाह लगायतले आलोचनापछि नाम फिर्ता लिएको घोषणा गरिरहँदा राणाले भने सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने प्रयास गरेकी हुन्।

उनले समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा पनि जिम्मेवारीका रूपमा लिएको र व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षा नभई औद्योगिक अनुभवमार्फत राष्ट्रको हितमा काम गर्ने उद्देश्य रहेको बताएकी छन्।

राणाले लेखेकी छन्, ‘मेरो परिचय राजनीति होइन, उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ। ५५ वर्षभन्दा लामो इतिहास बोकेको गोल्डस्टार जुत्ता उद्योगसँग म एक दशकदेखि आबद्ध छु। यस उद्योगमार्फत आज ३ देखि ४ हजार महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् भने हजारौँ परिवार अप्रत्यक्ष रूपमा जोडिएका छन्।’

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसद्मा उठाउन आग्रह गरेपछि आफूले यो जिम्मेवारी स्वीकार गरेको उनले खुलासा गरेकी छन्।

राणाले औद्योगिक क्षेत्रले भोग्दै आएका नीतिगत ढिलासुस्ती, कर प्रणाली, व्यापार नीति, ढुवानी, निर्यात, वित्तीय पहुँच र श्रमसम्बन्धी चुनौतीहरूलाई संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएकी छन्।

संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वको मर्मअनुसार उद्योग र उत्पादन क्षेत्रमा महिलाको समान सहभागिता अपरिहार्य रहेको उनको भनाइ छ।

उनले भविष्यमा आवश्यक परे जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको बताउँदै आफ्नो प्राथमिकता पदमा नभई मुद्दा र त्यसको निरन्तरतामा रहेको स्पष्ट पारेकी छन्।

स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तीकरणका मुद्दालाई संसद्मा लैजानु नै आफ्नो मुख्य उद्देश्य रहेको राणाको दाबी छ।

पुष २१, २०८२ सोमबार १३:४१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।