साइबर क्राइमका अभियुक्त अरनिको पाँडेद्वारा समानुपातिक सूचीबाट नाम फिर्ता

साइबर क्राइमका अभियुक्त अरनिको पाँडेद्वारा समानुपातिक सूचीबाट नाम फिर्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा साइबर क्राइमका अभियुक्त अरनिको पाँडेले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।

पाँडेले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू समानुपातिक सूचीबाट बाहिरिएको घोषणा गरेका हुन्। उनले आइतबार राति बसेको केन्द्रीय समिति बैठकमा आफ्नो नाम हटाउने निर्णयबारे जानकारी गराएको उल्लेख गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘म सधैँ देश र समाजलाई योगदान दिन सक्ने उपयुक्त बाटो रोज्ने प्रयासमा रहनेछु। पछिल्लो समय विकसित राजनीतिक अवस्थामा समानुपातिक सूचीमा रहिरहनुको औचित्य नदेखेपछि हिजो राति बसेको केन्द्रीय समिति बैठकमा मेरो नाम हटाउने निर्णय साथीहरूलाई सुनाएको छु।’

यसअघि, इमेलमार्फत एक महिलालाई अश्लील सन्देश पठाएको आरोपमा पक्राउ परेका पाँडे धरौटीमा रिहा भएका थिए। उनी गत निर्वाचनमा ललितपुर-१ बाट प्रत्यक्ष उम्मेदवार बन्न समेत इच्छुक थिए।

रास्वपाको समानुपातिक सूची विवादमा तानिएसँगै पाँडेसहित अहिलेसम्म ६ जना उम्मेदवारले नाम फिर्ताको घोषणा गरिसकेका छन्। तर, सोही सूचीमा रहेकी अर्की विवादास्पद पात्र ज्वाला संग्रौलाका विषयमा भने पार्टी र स्वयम् संग्रौला मौन छन्।

संग्रौला सरकारी दस्तखत तथा छाप किर्ते र जातीय विभेदसहित तीनवटा मुद्दाको अभियुक्त हुन्। पछिल्लो समय जेनजी आन्दोलनमा उत्तेजना फैलाउन फेसबुक लाइभ गर्नेदेखि रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने अभियानसम्म उनको सक्रिय सहभागिता देखिएको थियो।

रास्वपाको समानुपातिक सूचीमा विवादास्पद व्यक्तिहरूको नाम समावेश भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यही दबाबका कारण यसअघि अन्य पाँचजना उम्मेदवारले पनि नाम फिर्ता लिएका थिए।

पुष २१, २०८२ सोमबार १२:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।