ज्योति विकास बैंकद्वारा कोशी प्रदेशका दुर्गम स्वास्थ्य चौकीलाई ‘बेबी वार्मर’ सहयोग

ज्योति विकास बैंकद्वारा कोशी प्रदेशका दुर्गम स्वास्थ्य चौकीलाई ‘बेबी वार्मर’ सहयोग

काठमाडौं : ज्योति विकास बैंकले कोशी प्रदेशका दुर्गम क्षेत्रमा रहेका चार स्वास्थ्य संस्थाहरूलाई नवजात शिशुको जीवन रक्षाका लागि अत्यावश्यक ‘बेबी वार्मर’ (न्यानो नानी) मेसिन प्रदान गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सङ्खुवासभाको सिसुवाखोला हेल्थ पोस्ट र नुम प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङको पुजनसेवा नगर अस्पताल तथा पाँचथरको एकतीन हेल्थ पोस्टमा उक्त उपकरण जडान गरिदिएको हो। नवजात शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन यो उपकरण प्रयोग हुन्छ।

सो अवसरमा सम्बन्धित स्वास्थ्यकर्मीहरूलाई उपकरण सञ्चालनसम्बन्धी तालिम समेत प्रदान गरिएको थियो। बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत हालसम्म देशभरका ७० वटा स्वास्थ्य संस्थामा बेबी वार्मर जडान गरिसकेको छ, जसबाट १२ हजारभन्दा बढी शिशुहरू लाभान्वित भएको बैंकको दाबी छ।

बैंकले आफ्नो खुद मुनाफाबाट सामाजिक उत्तरदायित्वका लागि अन्य संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको जनाएको छ। हाल ज्योति विकास बैंकले ११८ शाखा, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत सेवा दिँदै आएको छ।

पुष २१, २०८२ सोमबार ११:४०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।