भीमफेदी सुमो दुर्घटना : ६ जनाको मृत्यु, मृतक चार जनाको सनाखत (विवरणसहित)

भीमफेदी सुमो दुर्घटना : ६ जनाको मृत्यु, मृतक चार जनाको सनाखत (विवरणसहित)

काठमाडौं : काठमाडौंबाट हेटौंडा जाँदै गरेको सुमो मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आइतबार साँझ करिब ५:२० बजे भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार भारतको बिहार राज्यको पटना बस्ने ४२ वर्षीय रजनिस कुमार र बिहारकै बेगुसराई बस्ने ५० वर्षीय अरविन्द कुमारको दुर्घटनामा मृत्यु भएको हो।

यसका अलावा सनाखत भएका अन्य दुई मृतहकरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाका ४० वर्षीया सविता लम्साल र वडा नम्बर २ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल रहेका छन्।

मृतक अन्य दुई जना अन्दाजी ३५ देखि ४० वर्ष उमेर समूहका पुरुषहरूको भने अझै सनाखत हुन सकेको छैन।

तीन जना घाइते, चितवन रिफर
दुर्घटनामा परी तीन जना घाइते भएका छन्। घाइतेहरूलाई हेटौंडामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन (भरतपुर) रिफर गरिएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा सुमो चालक हेटौंडा-४ कर्रा चोक बस्ने ४०/४५ वर्षीय गणेश थापा र मृतक सविता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको छ। त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका-२ बस्ने २१ वर्षीया रिचा चौधरीको अवस्था मध्यम रहेको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली घटनास्थल पुगी उद्धार कार्य गरेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पुष २१, २०८२ सोमबार ११:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।