बंगलादेशका खेल सार्ने प्रस्तावमा बीसीसीआई अधिकारीको जवाफ- ‘कसैको लहडकै भरमा तालिका परिवर्तन हुँदैन’
एजेन्सी : बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले सुरक्षाको कारण देखाउँदै टी-२० विश्वकपका लागि आफ्नो टोली भारत नपठाउने निर्णय गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का एक अधिकारीले कडा प्रतिक्रिया दिएका छन्।
बंगलादेशले आफ्ना खेलहरू भारतबाट अन्यत्र सार्न आग्रह गरे पनि बीसीसीआईका अधिकारीले प्रतियोगिताको मुखमा तालिका परिवर्तन गर्नु ‘लोजिस्टिकल नाइटमेयर’ (व्यवस्थापकीय दुस्वप्न) हुने बताएका छन्।
भारतीय सञ्चारमाध्यम एनडीटीभीसँग नाम नबताउने शर्तमा ती अधिकारीले भनेका छन्, ‘कसैको लहड र चाहनाका भरमा खेलको तालिका परिवर्तन गर्न सकिँदैन। यो व्यवस्थापकीय हिसाबले दुस्वप्न सरह हो। विपक्षी टोलीहरूको बारेमा पनि सोच्नुहोस्, जसको हवाई टिकट र होटलहरू पहिले नै बुक भइसकेका छन्।’
ती अधिकारीले थपे, ‘हरेक दिन तीनवटा खेलहरू निर्धारित छन्, जसमध्ये एउटा श्रीलंकामा हुनेछ। यसमा ब्रोडकास्ट क्रुको व्यवस्थापन पनि जोडिएको हुन्छ। त्यसैले खेल सार्ने कुरा भन्न जति सजिलो छ, कार्यान्वयन गर्न त्यति नै गाह्रो छ।’
यसअघि आइतबार बीसीबीको आकस्मिक बैठकले वर्तमान परिस्थितिमा राष्ट्रिय टोलीलाई भारत पठाउन नसकिने औपचारिक निर्णय गरेको थियो। बोर्डले आईसीसीलाई बंगलादेशका खेलहरू भारत बाहिर सार्न आग्रहसमेत गरेको छ।
यो विवादको मुख्य जड बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई आईपीएल टिम कोलकाता नाइट राइडर्स (केकेआर)बाट हटाइनु हो बीसीसीआईको निर्देशनमा केकेआरले मुस्ताफिजुरलाई रिलिज गरेपछि बंगलादेशमा यसको तीव्र विरोध भइरहेको छ।
बंगलादेशका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुरको घटनालाई राजनीतिक पूर्वाग्रह भन्दै, ‘जब एक खेलाडी सम्झौतामा हुँदाहुँदै खेल्न पाउँदैनन् भने, सिङ्गो टिम भारत जान सुरक्षित महसुस गर्न सक्दैन’ भन्ने प्रतिक्रिया दिएका थिए।
फेब्रुअरी ७ बाट सुरु हुने विश्वकपमा बंगलादेशले आफ्ना चारै ग्रुप स्टेजका खेलहरू भारतमा खेल्ने तालिका छ। पाकिस्तानले आफ्ना सबै खेल श्रीलंकामा खेल्ने नजिर रहेको अवस्थामा आईसीसीले बंगलादेशको अनुरोधलाई कसरी सम्बोधन गर्छ भन्ने हेर्न बाँकी छ, तर बीसीसीआईको प्रतिक्रियाले तालिका हेरफेर निकै जटिल हुने संकेत गरेको छ।
पुष २१, २०८२ सोमबार ०९:१८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।