बेलायतमा ‘वर्क परमिट’को बहानामा ठगी बढ्यो, सचेत रहन दूतावासको आग्रह
एजेन्सी : लण्डनस्थित नेपाली दूतावासले बेलायतमा ‘वर्क परमिट’ (श्रम स्वीकृति) दिलाइदिने र रोजगारीका लागि ‘स्पोन्सर’ खोजिदिने बहानामा ठगीका घटना बढेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ।
पछिल्लो समय नेपालबाट बेलायत आउन चाहने तथा बेलायतमै रहेर कामको खोजी गरिरहेका धेरै नेपालीहरू ठगीमा परेको गुनासो आएपछि दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।
दूतावासका अनुसार ठगी कार्यमा कतिपय नेपाली मूलका व्यक्तिहरूकै संलग्नता देखिएको छ। साथै, चिनजानका नेपालीहरूमार्फत तेस्रो मुलुकका व्यक्तिहरूको सम्पर्कमा पुगेर पनि धेरैजना ठगीमा परेको पाइएको छ।
यस्ता क्रियाकलाप नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय अपराध भएकाले कोही ठगीमा परेको खण्डमा नेपालका अनुसन्धान निकाय वा बेलायतको स्थानीय प्रहरी तथा ‘नेशनल एण्टी फ्रड नेटवर्क’ (एक्सन फ्रड) मा उजुरी गर्न दूतावासले सुझाव दिएको छ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितलाई न्यायका लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताउनुभयो। समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा फोन नम्बर +४४–७४०४९३९२७४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
पुष २१, २०८२ सोमबार ०७:२४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।