सोमबार काठमाडौंमा रास्वपाको 'बृहत समायोजन घोषणा सभा'

सोमबार काठमाडौंमा रास्वपाको 'बृहत समायोजन घोषणा सभा'

काठमाडौं : आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक प्रभाव विस्तारमा जोड दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार काठमाडौंमा एक विशेष ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ आयोजना गर्ने भएको छ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा दिउँसो १ बजे आयोजना हुने उक्त समारोहमा विभिन्न राजनीतिक दल, समूह र नागरिक अभियन्ताहरू रास्वपामा समाहित हुने कार्यक्रम रहेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरू तथा थरुहट/थारुवान् अभियन्ताहरू र रास्वपाबीच औपचारिक रूपमा राजनीतिक समायोजन हुन लागेको हो।

समायोजनले तराई-मधेस, विशेषगरी थारु समुदायको बाहुल्यता रहेका क्षेत्रमा रास्वपाको पकड बलियो बनाउने अपेक्षा गरिएको छ। समायोजनको पूर्वसन्ध्यामा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका रुपन्देही जिल्ला अध्यक्षसहित ३३ जना नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिइसकेका छन्।

यसअघि पुस १३ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समूह र पुस १४ गते मन्त्री कुलमान घिसिङ संरक्षक रहेको 'उज्यालो नेपाल पार्टी'सँग भएको एकता र सम्झौतालाई समेत ‘बृहत राजनीतिक समायोजन घोषणा सभा'ले संस्थागत गर्नेछ। यी दुई शक्तिसँगको एकताको समायोजन र सांगठनिक विस्तारका सम्बन्धमा अहिले रास्वपाको केन्द्रीय समिति बैठकमा छलफल जारी छ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने रणनीतिका साथ रास्वपाले विभिन्न दल र समूहसँग एकताको ढोका खोलेको छ।

पुष २०, २०८२ आइतबार १४:३९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।