‘एकता सन्देश’ दिन दिल्ली जाँदै प्रचण्ड

‘एकता सन्देश’ दिन दिल्ली जाँदै प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारत जाँदै छन्। प्रवासी नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुन लागेको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरूबीचको एकता पश्चात् बनेको नयाँ पार्टीको संयोजकका रूपमा प्रचण्डको यो पहिलो भारत भ्रमण हो।

सोमबार नयाँ दिल्लीस्थित लाजपत भवनमा आयोजना हुने विशेष समारोहलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। आयोजक नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, कार्यक्रममा प्रचण्डले प्रवासमा रहेका नेपाली समुदायका साझा सरोकार, नेपाल-भारत सम्बन्धको सुदृढीकरण, प्रवासी नेपालीका समस्या र अवसरका साथै राजनीतिक एकता र सहकार्यको महत्त्वबारे समसामयिक सन्देश दिइनेछ।

पार्टी एकतापछि प्रवासमा रहेका कार्यकर्ता र शुभेच्छुकहरूलाई एकीकृत सन्देश दिनु र उनीहरूको हक-हितका लागि सचेतना अभिवृद्धि गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको सचिवालयले जनाएको छ। निर्वाचनको सरगर्मी बढिरहेका बेला हुन लागेको उनको भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्णरूपमा हेरिए पनि यस पटक भारतीय पक्षसँग कुनै औपचारिक भेटघाटको कार्यक्रम तय नभएको उनको सचिवालयले स्पष्ट पारेको छ।

"दिल्ली भ्रमण प्रवासी संगठनको कार्यक्रममा केन्द्रित रहनेछ। आइतबार गएर सोमबार साँझ स्वदेश फर्किने तालिका छ," सचिवालयले जानकारी दिएको छ।

पुष २०, २०८२ आइतबार ०९:२७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।