फिलिपिन्समा पक्राउ परे नेपाली नागरिक पाठक : हत्याको षडयन्त्र र फिरौती असुलीको अभियोग
काठमाडौं : उच्च पदस्थ व्यक्तिलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले ३३ वर्षीय पाठकलाई बुलाकन प्रान्तको मालोलोस सहरबाट डिसेम्बर ३१ मा नियन्त्रणमा लिएको हो।
पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले सन् २०२५ डिसेम्बर १ मा 'आपराधिक विश्वासघात' को मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। त्यस्तै, डिसेम्बर १२ मा उनीविरुद्ध फिरौती असुली र आपराधिक षडयन्त्रको अभियोगमा इन्टरपोलले समेत 'डिफ्युजन नोटिस' जारी गरेको थियो।
फिलिपिन्सको अध्यागमन विभागका अनुसार अनुसन्धानका क्रममा पाठक अन्य गम्भीर सुरक्षा चुनौतीका गतिविधिमा समेत संलग्न रहेको पाइएको छ। उनले जेलबाट भागेका कैदीहरूलाई आर्थिक सहयोग गर्ने, हतियारमा पहुँच पुर्याउने र आत्मसमर्पण नगर्न उक्साउने गरेको सूचना प्राप्त भएको विभागले जनाएको छ। यसका साथै एक उच्च पदस्थ सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रमा समेत उनको संलग्नता रहेको आरोप लगाइएको छ।
सरकारी अभिलेख अनुसार पाठक सन् २०२५ अगस्ट १८ मा फिलिपिन्स प्रवेश गरेका थिए। उनको वैधानिक बसाईको अनुमति डिसेम्बर १८ मा समाप्त भइसकेकाले उनी गैरकानूनी रुपमा बसिरहेको पाइएको छ।
फिलिपिन्सको अध्यागमनका कमिश्नर जोएल एन्थोनी भियाडोले फिलिपिन्सलाई अन्तर्राष्ट्रिय अपराधीहरूको सुरक्षित आश्रयस्थल बन्न नदिने सरकारको नीति अनुरुप कारबाही गरिएको बताए। पक्राउ परेका पाठकलाई हाल अध्यागमन विभागको हिरासतमा राखिएको छ र उनलाई नेपाल पठाउन कानूनी प्रक्रिया अगाडि बढाइएको छ।
पुष १९, २०८२ शनिबार २०:२७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।