सकियो ‘बब डाई’को छायांकन

सकियो ‘बब डाई’को छायांकन

काठमाडौं : कीर्तिपुरको रैथाने परिवेश र एउटा रोचक पात्रको कथा बोकेको फिल्म ‘बब डाई’ले ४२ दिन लामो छायांकन तालिका पूरा गरेको छ। अभिनेता सौगात मल्ल र सिम्रन पन्तलाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको यस फिल्मको छायांकन काठमाडौंको चन्द्रागिरि र कीर्तिपुर नगरपालिका भित्रका स्थानमा गरिएको छ। 

निर्देशक प्रवीण श्रेष्ठका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा लागेको छ। दुई गीत बाहेक स्क्रिप्टका दृश्यका सम्पूर्ण छायांकन सकिएको उनले जानकारी दिए। गीतको छायांकन केहि सातापछि गरिनेछ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो फिल्ममा कीर्तिपुरको एक युवाको कथा छ। अभिनेता सौगातले बब डाईको भूमिका निभाएका छन्। निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले फिल्मको नाम बब डाई राखिएको हो। 

फिल्म कमेडी जनरामा निर्माण गरिएको छ। तर चलचित्रमा कमेडीसँग धेरै कुरा पाउन सकिने निर्देशक श्रेष्ठ बताउँछन्। फिल्ममा सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बाल कलाकार अग्रिम पण्डितको अभिनय रहेको छ।

मैनिषा गौचन र प्रवीन श्रेष्ठको कथा रहेको फिल्मको एसोसिएट निर्देशक दिनेश बहादुर राउत हुन् भने मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन्। श्याम तामाङको टिमले खिचेको फिल्मको सम्पादन निर्देशक श्रेष्ठ स्वयंले गर्नेछन्। 

शंकर महर्जनको एक्सन रहेको फिल्मका आर्ट डिरेक्टर घनश्याम श्रेष्ठ हुन्। फिल्ममा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रवीन्द्र प्रजापति कार्यकारी निर्माता हुन्। फिल्मको प्रदर्शन मिति अहिले तोकिएको छैन।
 

पुष १८, २०८२ शुक्रबार १८:३७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।