हलमा माघे संक्रान्ति : दया र सौगातको साख जोगाउने दाउ, मरिचमानलाई पर्दामा जम्ने मौका!
काठमाडौं : आगामी माघ १ गते (माघे संक्रान्ति) को अवसर पारेर तीन वटा ठूला नेपाली फिल्महरू एकसाथ प्रदर्शनमा आउने भएका छन्। मरिचमान श्रेष्ठको ‘गोबर गणेश’, दयाहाङ राईको ‘मिरमिरे’ र सौगात मल्लको ‘भाइरल गोर्खे’ हलमा एकसाथ भिड्दै छन्।
चर्चाका हिसाबले तीनै वटा फिल्म कमजोर देखिन्छन्। तर फिल्मका तीनै कलाकारको मुख्य भूमिकाले दर्शक बटुल्छ कि भन्ने अनुमान गरिएको छ। किनभने टेलिभिजनमार्फत दर्शकमाझ छाइरहेको बल्छी धुब्रेका रूपमा परिचित मरिचान र हलमा दर्शक तानिरहेका दया र सौगातको रोचक जुधाइले कुन फिल्मको बक्स अफिस रिपोर्टमा छलाङ मार्ला भन्ने कौतुहलता छ।
सिरियलबाट अभिनयमा आएका मरिचमान, पुजन घिमिरे र अभिनेत्री वर्षा शिवाकोटीको सहकार्य रोचक देखिएको छ। उनीहरू ‘हल्का रमाइलो’ टेलिभिजन हास्य टेलिश्रृंखलामार्फत दर्शकमाझ छाइरहेका हुन्। टेलिभिजनमा हेरेका कलाकारलाई दर्शकले हलको पर्दामा कति रुचाउँछन् भन्ने चर्चाको विषय बनेको छ।
यता यम शेर्पाको दोस्रो निर्देशकीय फिल्म ‘मिरमिरे’को निर्माण समयदेखि नै चर्चामा छ। उनको डेब्यु फिल्म ‘कार्साङ’ समीक्षात्मक हिसाबले सकारात्मक मानिएको थियो। बोर्डको बक्स अफिस रिपोर्टमा कमजोर भएता पनि यसका कलाकारहरूको प्रशंसा भएको थियो। तीनै फिल्मका कलाकारले दोस्रो फिल्म ‘मिरमिरे’मा सहकार्य गरेका छन्। त्यसले पनि यो फिल्मको चर्चा बढेको हो। फिल्ममा दयाहाङका अलावा सिर्जना निङलेखु, प्रकाश सपुत लगायतको अभिनय रहेको छ।
सोही मितिमा सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘गोर्खे भाइरल’ प्रदर्शनमा आउने भएको छ। केही दिनअघि फिल्मको ट्रेलर रिलिज गर्दै निर्माण टिमले प्रदर्शन मिति तोकेको हो। त्यस कारण पनि यो माघ महिनाको माघे संक्रान्तीका दिन हलमा एकसाथ त्रिपक्षीय फिल्मको जुधाइँ चल्ने भएको हो।
‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता फिल्मका निर्देशक निगम श्रेष्ठको निर्देशनमा बनेको यस फिल्म ‘भाइरल गोर्खेमा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला पत्रकार, रवि भुजेल, पवित्रा साकी मिस पविलाई देख्न सकिनेछ।
पुस महिनामा हलमा तीन वटा फिल्म प्रदर्शनमा आएका छन्। गत पुस ४ गतेबाट हलमा अर्जुन घिमिरे(पाँडे) निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’का साथै गते १० गतेबाट ‘मुगलान’ र हिजो बिहीबार अर्थात् १७ गतेबाट ‘एक्लो : १’ प्रदर्शनमा आएको छ। यी तीन फिल्ममध्ये ‘झरीपछिको इन्द्रेणी’ले एक सातामा ६२ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको छ। यस बाहेक अन्य फिल्मको भने ग्रस कलेक्सन चलचित्र विकास बोर्डले सार्वजनिक गर्न बाँकी रहेको छ।
चर्चाका हिसाबले यी तीनै फिल्म केही कमजोर देखिए पनि चलेका कलाकारहरूको उपस्थितिले हलमा दर्शक तान्ने अनुमान गरिएको छ। यो त्रिपक्षीय भिडन्तले सामाजिक सञ्जाल र हलहरूमा भने निकै प्रभाव पार्ने देखिन्छ।
पुष १८, २०८२ शुक्रबार १८:१६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।