सिराहा जाँदा हेलिकप्टरमा सरकारी कोषको दुरुपयोग भएको छैन : मुख्यमन्त्रीको सचिवालय

सिराहा जाँदा हेलिकप्टरमा सरकारी कोषको दुरुपयोग भएको छैन : मुख्यमन्त्रीको सचिवालय

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सचिवालयले बिहीबार सिराहा जाँदा मुख्यमन्त्रीले प्रयोग गरेको हेलिकप्टरमा सरकारी कोषको कुनै दुरुपयोग नभएको स्पष्ट पारेको छ।

मुख्यमन्त्रीले सरकारी खर्चमा हेलिकप्टर प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त यात्रा निजी खर्चमा भएको दाबी गरेको हो।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिहीबारको यात्राका क्रममा कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको स्पष्ट पार्न चाहन्छौँ।’

सचिवालयका अनुसार बिहीबार मुख्यमन्त्री बानियाँ सिन्धुपाल्चोकको मेलम्ची-९, गुफा डाँडामा आयोजित छैठौँ जलवायु सम्मेलनमा सहभागी भएका थिए।

सोही दिन सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा मधेस र बागमती प्रदेशका पार्टी सभापतिहरूलाई आमन्त्रण गरिएको थियो।

बागमती प्रदेशको पार्टी सभापतिसमेत रहेका बानियाँलाई एकै दिन दुई फरक स्थानमा पुग्नुपर्ने बाध्यता र सडक मार्गबाट समयमै पुग्न असम्भव भएपछि निजी खर्चमै हेलिकप्टर प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘मितव्ययिता अपनाएको छु, चरित्र हत्या नगर्नुस्’
मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गरेलगत्तै खर्च कटौती र मितव्ययिता अपनाएको सचिवालयले दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्रीज्यूले आफ्नो सरकारी निवासको खर्चदेखि आफूले चढ्ने सवारीको इन्धनसमेत निजी खर्चमा गर्दै आउनुभएको छ। उहाँको सचिवालयले हालसम्म भ्रमण भत्तासमेत नलिई काम गरिरहेको छ।’

सुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर निर्माण गरिदिने घोषणाअनुरूप मनहरी र कैलाश गाउँपालिकामा २ विपन्न परिवारको घर निर्माण गरी हस्तान्तरण गरिसकिएको र राक्सिराङ गाउँपालिकामा विपन्नको घर निर्माणधीन रहेको तथ्य पनि सचिवालयले स्मरण गराएको छ।

मुख्यमन्त्रीले गरेका सकारात्मक कामलाई ओझेलमा पार्न र चरित्र हत्या गर्ने उद्देश्यले केही व्यक्ति र समूहले सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै सचिवालयले आपत्ति जनाएको छ।

पुष १८, २०८२ शुक्रबार १२:५०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।