‘कमेडी दरबार’को टिमलाई लिएर अस्ट्रेलिया जाँदै शोभित बस्नेत, आठ शहरमा प्रस्तुति
काठमाडौं : फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले टेलिभिजन कमेडी रियालिटी शो ‘कमेडी दरबार’ को टोलीलाई लिएर अस्ट्रेलियाको सांगीतिक भ्रमण गर्ने भएका छन्।
यसका लागि निर्देशक बस्नेत र कमेडी दरबारका तर्फबाट विक्की अग्रवालबीच औपचारिक लिखित सम्झौता सम्पन्न भएको छ।
आगामी फेब्रुअरी महिनाको मध्यदेखि सुरू हुने यो टुर करिब एक महिनासम्म चल्नेछ।
टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत करिब ८ वटा मुख्य सहरमा कार्यक्रम आयोजना गरिने निर्देशक बस्नेतले जानकारी दिए।
‘अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई भरपुर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हामीले यो टुरको आयोजना गर्न लागेका हौँ, यसका लागि सम्पूर्ण तयारी भइसकेको छ’, बस्नेतले भने।
टुरमा ‘कमेडी दरबार’ का अधिकांश लोकप्रिय कलाकारहरूको सहभागिता रहनेछ।
कार्यक्रमको मुख्य प्रस्तुतकर्ता ‘पाल्पा इन्टरटेनमेन्ट’ रहेको छ भने टुरको आयोजना ‘थ्रीकेजी इभेन्ट’ र पाल्पा इन्टरटेनमेन्टले संयुक्त रूपमा गर्नेछन्।
कार्यक्रमको व्यवस्थापन तथा तयारीका लागि शोभित बस्नेत छिट्टै अस्ट्रेलिया जाने तयारीमा छन्।
साथै, पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतबीच अब अस्ट्रेलियामा हरेक दुई महिनामा नियमित मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने योजना पनि तय भएको छ।
यसअघि उनीहरूको व्यवस्थापनमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक यम बराल, आनन्द कार्कीलगायतले अस्ट्रेलियाका विभिन्न सहरमा भव्य प्रस्तुति दिइसकेका छन्।
पुष १८, २०८२ शुक्रबार १२:२९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।