कलाकार बिपनाको हिजोका कुरा : दुई सन्तान बोकेर सेतीमा फाल हाल्न जाँदा छोराले भन्यो- ‘मामु, हात चिसो भयो’
जीवन एउटा चलचित्रको रिलजस्तै रहेछ, जहाँ सुख र दुःखका दृश्यहरू बिना जानकारी आउँदा र जाँदा रहेछन्। काठमाडौंको धर्मस्थलीको सम्भ्रान्त बस्नेत परिवारमा जन्मिएकी कलाकार बिपना बस्नेतको जीवनलाई फर्किएर हेर्दा ठ्याक्कै यही भनाइसँग मेल खान्छ।
एउटा खान्दानी परिवारको कान्छी छोरीका रूपमा जन्मिएर अभाव के हो भन्ने थाहा नपाई हुर्किएकी उनी, एक दिन सडकमा ५ सय रुपैयाँ च्यापेर आत्महत्या गर्न निस्किएकी थिएँ। मृत्युको मुखबाट फर्किएर आज यो स्थानसम्म आइपुग्दा उनलाई जीवन एउटा अद्भूत पाठशाला हो भन्ने लाग्दो रहेछ।
उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा उनले आफ्ना आँसु, हाँसो, पीडा र सङ्घर्षका पाटा यसरी पल्टाएकी छन्:
२० सन्तानमध्ये म कान्छी छोरी
मेरो जन्म २०२२ सालमा काठमाडौंको तत्कालीन धर्मस्थली गाविसमा भएको हो। अहिले यसलाई तारकेश्वर नगरपालिका भनिन्छ। मेरी आमाले २० जना सन्तान जन्माउनुभएको हो। तीमध्ये १६ जना सानैमा बिते। कोही जन्मेको एक–दुई महिनामा त कोही दुई–तीन महिनामै खसे रे!
हामी बाँचेका चाहिँ जम्मा चार जना हौँ- म, दुई दाजु र एक दिदी। म सबैभन्दा कान्छी हुँ। मेरी दिदी मभन्दा झन्डै ११ वर्ष जेठी हुनुहुन्छ। हामी चार जनामध्ये पनि जेठो दाजु बित्नुभएको ११ वर्ष भइसकेको छ।

हाम्रो परिवार निकै ठूलो थियो। बुबाका ९ जना दाजुभाइ र ८ जना दिदीबहिनी हुनुहुन्थ्यो। तर, त्यतिबेलाको समाजमा पनि हाम्रो परिवारमा सबैले पढ्नुभयो। ‘पढ्नुहुँदैन’ भन्ने कुरा मैले कहिल्यै सुनिनँ। मैले कक्षा २ सम्म लैनचौरको कन्या माध्यमिक विद्यालयमा पढेँ।
बुबाको घर ठमेलमा भएकाले त्यहीँ बसेर पढ्ने मौका मिल्यो। कक्षा ३ र ४ चाहिँ ठहिटीको शान्ति शिक्षा मन्दिरमा र कक्षा ५ देखि गाउँकै धर्मस्थलीको ग्राम सेवा माध्यमिक विद्यालयमा पढेँ। त्यहीँबाट वि.सं. २०४० सालमा एसएलसी दिएँ। पहिलो पटक असफल भए पनि २०४१ सालमा राम्रो अङ्कसहित उत्तीर्ण भएँ।
छिमेकीका छोरीहरू स्कुल गएको देखिनँ
मैले पढ्ने बेला हाम्रो परिवारमा छोरीलाई पढाउन कुनै रोकटोक थिएन। बुबाका दाजुभाइका छोराछोरी सबै स्कुल जान्थ्यौँ। तर, गाउँघर र छिमेकमा भने छोरीहरू स्कुल गएको विरलै देखिन्थ्यो। ५-६ कक्षामा पढ्दा हाम्रो कक्षामा ४२ जना विद्यार्थी थियौँ, जसमा ९ जना मात्र छात्रा थियौँ। अरू कक्षामा त झन् ४-५ जना मात्र हुन्थे।
छिमेकका भट्ट, तिमिल्सिना, नेपाली थरका दिदीबहिनीहरू स्कुल गएको मैले देखिनँ। यहाँसम्म कि मेरा दमाई मितबुबाले पनि आफ्ना छोरीहरूलाई स्कुल पठाउनुभएन। दलित मात्र होइन, क्षेत्री-बाहुन परिवारका छोरीहरू पनि पढ्न जाँदैनथे। उनीहरू सधैँ घरधन्दा र खेतीपातीमै व्यस्त हुन्थे।
मैले पनि कहिल्यै उनीहरूलाई ‘तिमीहरू किन स्कुल नआएको?’ भनेर सोधिनँ। उनीहरू किन पढ्न नआएका होलान् भन्ने प्रश्न मेरो बाल मस्तिष्कमा कहिल्यै आएन। अहिले सम्झँदा लाग्छ, त्यो सब अभिभावकमा भएको शिक्षा र चेतनाको कमीले रहेछ।
कागजका सामान र ५ पैसाको फुलौरा
हाम्रो समयमा ‘पूर्वव्यावसायिक शिक्षा’ भन्ने विषय हुन्थ्यो। शान्ति डंगोल मिसले हामीलाई कागजका टेबुल, कुर्सी, सोफा आदि बनाउन सिकाउनुहुन्थ्यो। स्कुलमा करेसाबारीको काम पनि सिकाइन्थ्यो।
मिसले नै हामीसँग ५-५ रुपैयाँ उठाएर स्कुलमै खिर, पुलाउ पकाउन सिकाउनुहुन्थ्यो। खेलका नाममा रुमाल लुकाइ, गीत गाउने र नाच्ने गरिन्थ्यो। त्यो समयको पढाइ र रमाइलो सम्झँदा अहिले पनि मन आनन्दित हुन्छ।
त्यतिबेलाको सपिङ भनेको बालाजु र असन बजार हुन्थ्यो। दसैँ–तिहारको किनमेल गर्न बुबा र दाजुहरू असन जानुहुन्थ्यो। भरिया लगाएर डोकोका डोको सामान आँगनमा आइपुग्दा बल्ल दसैँ आएको आभाष हुन्थ्यो। मलाई १३ वर्षको उमेरमा बुबाले म्याक्सी किनिदिनुभएको घटना अझै याद छ।
बुबा बित्नुभन्दा दुई वर्षअघिको कुरा हो, दशैंका लागि बुबाले सामान किनिसक्नुभएको थियो। तर, मैले म्याक्सी चाहियो भनेर जिद्दी गरेँ। बुबालाई म्याक्सी भनेको के हो थाहा थिएन होला, तर भोलिपल्टै कपडा किनेर ल्याइदिनुभयो। मेरो मितबुबाले रातभर लगाएर सिइदिनुभएको त्यो म्याक्सी मेरो लागि विशेष थियो।

ठमेलमा बस्दा हामी फुलौरा र पापड किनेर खान्थ्यौँ। भवानीवाल चोकको छेउमा एक बूढी आमाले पसल राख्नुभएको थियो। म आमासँग ५ पैसा मागेर फुलौरा खान्थेँ। कहिलेकाहीँ त दिनमै दुई-तीन पटक माग्थेँ। आमा कहिले रिसाउनुहुन्थ्यो त कहिले एकैचोटि मोहर (५० पैसा) दिएर ‘अब नमाग है’ भन्नुहुन्थ्यो। त्यतिबेला ५ पैसामा पनि मनग्गे खानेकुरा आउँथ्यो।
प्रेमविवाह र कहालीलाग्दा दिनहरू
म कक्षा ९ मा पढ्दा कीर्तिपुरका रवि अधिकारीले मलाई देख्नुभएको रहेछ। उहाँले मलाई मन पराएर मेरो सान्दाजुसँग कुरा चलाउनुभएछ। उहाँ मेरो दाजुभन्दा पनि जेठो हुनुहुन्थ्यो। कपाल सेत्तै फुलेको, टलटल टल्किने, विनोद खन्नाजस्तो ह्यान्डसम देखिने उहाँ मलाई पनि असाध्यै मन पर्न थाल्यो।
उमेर र जात नमिल्ने भए पनि प्रेम अन्धो हुँदो रहेछ। आईए सकेर बीएको पहिलो वर्ष पढ्दै गर्दा मैले उहाँसँग भागेर बिहे गरेँ। मेरो परिवार कसैलाई यो सम्बन्ध चित्त बुझेको थिएन, तर मैले सबै छोडेर गएँ।
बिहे गरेको सुरुवाती चार–पाँच महिना त उहाँले राम्रै माया गर्नुभयो। तर, विस्तारै उहाँको व्यवहार फेरियो। उहाँकी आमा र दिदी कडा स्वभावका हुनुहुन्थ्यो। श्रीमान्ले पहिले नै ‘आमा र दिदीले जेठी र माइलो भाइलाई घर खान दिएनन्, तिमीले उनीहरूलाई रिझाएर बस्नुपर्छ’ भन्नुभएको थियो।
मायाको आवेगमा मैले ‘हुन्छ’ भनिदिएँ। तर, पछि सासु र आमाजूको दमन अनि श्रीमान्को बेवास्ताले मेरो जीवन नर्कजस्तै भयो। छरछिमेकीले पनि ‘कसरी टिक्छौ बुहारी?’ भनेर सहानुभूति देखाउँथे।
सबैले हेला गरे पनि श्रीमान्को साथ भए संसार जितिन्छ भन्ने सुनेकी थिएँ, तर मेरो हकमा त्यो गलत साबित भयो। श्रीमान्ले नै साथ छोडेपछि १० वर्षसम्म जसोतसो सहेरै बसेँ।
मृत्युको बाटो रोजेर घरबाट निस्कँदा
अति भएपछि एकदिन मैले त्यो घर सदाका लागि छोड्ने निर्णय गरेँ। पुस महिनाको कठ्याङ्ग्रिँदो जाडोमा खल्तीमा ५ सय रुपैयाँ बोकेर म दुई सन्तानसहित निस्किएँ। मेरो योजना थियो- पोखरा जाने र सेती नदीमा हाम फालेर मर्ने। म बाँचे भने छोराछोरीको बिजोग हुन्छ, बरु सँगै लिएर जान्छु भन्ने सोचेकी थिएँ।
पुस २१ गते बिहान ३ बजेतिर घरबाट निस्कँदा मेरो दिमाग शून्य थियो। सानो छोराको हात समातेकी थिएँ भने छोरीलाई ढाडमा बोकेकी थिएँ। जाडोले छोरा लुरुलुरु हिँडिरहेको थियो। बाटोमा कुकुर भुकेको पनि मलाई होस थिएन। केही पर पुगेपछि छोराले भन्यो, ‘मामु, हात कस्तो चिसो भयो!’ उसको त्यो बोलीले म झल्यास्स भएँ।
मैले सोचेँ- मेरो पो भाग्य यस्तो थियो, यिनीहरूका के गल्ती छ? यिनीहरूलाई किन मार्ने? मेरा सन्तानलाई मैले जसरी पनि बचाउनुपर्छ भन्ने भावना एकाएक जाग्यो। त्यो क्षण सम्झँदा अहिले पनि मेरो आङ सिरिङ्ग हुन्छ। त्यहीँबाट मैले मर्ने विचार त्यागेँ र बाँच्नका लागि सङ्घर्ष गर्ने अठोट गरेँ। त्यो रात घर छोडेर नहिँडेको भए वा मरेको भए आजको यो दिन देख्न पाउँदिनथेँ।
सपना र सङ्घर्ष : हिरोइन बन्न नपाए पनि कलाकार भएँ
कलाकारिताको रहर मलाई सानैदेखि थियो। स्वर्गीय प्रदीप रिमाल मेरो मामाघरका भिनाजु हुनुहुन्थ्यो। वि.सं. २०४२ सालमा उहाँहरूले निर्माण गर्न लागेको भिडियो फिल्म ‘पश्चाताप’ का लागि म हिरोइन छनोट भएकी थिएँ।
रञ्जना हल अगाडि फिल्मको शुभ मुहूर्त पनि भयो। तर, अन्तिम समयमा घरपरिवारले ‘छोरी मान्छेले फिल्म खेल्नुहुँदैन’ भनेर रोक लगाए। त्यतिबेला मेरो हिरोइन बन्ने सपना अधुरै रह्यो।
तर, समयले मलाई फेरि त्यही क्षेत्रमा डोर्यायो। वि.सं. २०५४ सालमा मैले फिल्म ‘पराई घर’ मा हेयर डिजाइनरका रूपमा काम सुरु गरेँ। दुई बच्चा हुर्काउनुपर्ने बाध्यताले मलाई काममा फर्काएको थियो।

निर्देशक स्वर्गीय दीपक रायमाझीको त्यो फिल्ममा काम गर्दा मैले ४ हजार पारिश्रमिक पाएकी थिएँ। त्यसपछि नीर शाहको ‘वसन्ती’, ‘क्रान्ति’, ‘देशद्रोही’, ‘जिन्दगानी’, ‘शुभकामना’ लगायतका थुप्रै फिल्ममा हेयर डिजाइनरको कामसँगै अभिनय पनि गरेँ।
पछि हास्य टेलिशृङ्खला ‘तितो सत्य’मा हिसिला यमीको नक्कल गरेपछि म दर्शकमाझ चिनिएँ। त्यसयता थुप्रै सिरियलमा अभिनय गरेकी छु।
अहिले शिशिर भण्डारीको निर्माणमा बनेको ‘नाता’ सिरियलमा काम गरिरहेकी छु। जीवनका ती कहालीलाग्दा दिनहरू पार गरेर आज यहाँसम्म आइपुग्दा मलाई आफ्नो सङ्घर्षप्रति गर्व लाग्छ।
पुष १८, २०८२ शुक्रबार ११:५९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।