पोखरामा आजदेखि चार दिन दैनिक ५ घण्टा विद्युत् कटौती हुने

पोखरामा आजदेखि चार दिन दैनिक ५ घण्टा विद्युत् कटौती हुने

कास्की : पोखरामा आजदेखि आगामी २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेसनमा मर्मत तथा स्तरोन्नतिको काम सुरु भएकाले विद्युत् कटौती हुन लागेको हो।

पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार सबस्टेसनको ‘बसबार’ स्तरोन्नति गर्नुपर्ने भएकाले चार दिनसम्म बिहान ६:०० बजेदेखि ११:०० बजेसम्म विद्युत् आपूर्ति रोकिनेछ।

उनले भने, ‘एक सय ३२ केभीको बसबार मर्मतका लागि ठेक्का प्रक्रियामार्फत आजदेखि काम सुरु हुँदैछ। यसबाट कुँडहर ग्रीडबाट वितरण हुने सबै फिडरहरू सटडाउन हुनेछन्।’

मर्मत कार्यका कारण पोखराको प्रवेशद्वार विजयपुरदेखि हरिचोकसम्मका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले तोकिएको समयभन्दा अगाडि नै मर्मत कार्य सकिएमा निर्धारित समयअगावै विद्युत् आपूर्ति सुचारु गरिने जनाएको छ।

पुष १८, २०८२ शुक्रबार ०७:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।