छिट्टै पुनर्गठन हुँदै कोशी प्रदेश सरकार
मोरङ : कोशी प्रदेशको सरकार छिट्टै पुनर्गठन हुने भएको छ। सत्ता गठबन्धनमा रहेका दलहरूसँगको आवश्यक परामर्श र सहमतिपछि पुनर्गठनको प्रक्रिया अगाडि बढाइने भएको हो।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने बताए। प्रेस चौतारी नेपालद्वारा बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए।
एमाले नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कार्कीले सोही कार्यक्रममा एमालेको ११औँ महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई दिए।
त्यसैगरी यस वर्षको शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीकी रेणु पराजुलीलाई २१ हजारसहित सम्मानित गरिएको छ। चौतारी मोरङ अध्यक्ष चीना थापा, इन्चार्ज सुमन सुस्केरा, उपाध्यक्ष जुनु भट्टराईलगायतले समाजमा पछाडि परेका वर्गको उत्थानमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने सुझाव दिए।
पुष १७, २०८२ बिहीबार १७:४२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।