रिलिजको एक महिनापछि ‘धुरन्धर’मा सेन्सर बोर्डको कैँची, केही डाइलग परिवर्तन

रिलिजको एक महिनापछि ‘धुरन्धर’मा सेन्सर बोर्डको कैँची, केही डाइलग परिवर्तन

एजेन्सी : अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ प्रदर्शनमा आएको करिब एक महिना पुग्न लाग्दा पनि बक्स अफिसमा बलियो पकड जमाइरहेको छ।

तर, रिलिजको झण्डै एक महिनापछि भारतको सूचना तथा प्रसारण मन्त्रालयको निर्देशनमा फिल्ममा केही महत्त्वपूर्ण परिवर्तन गरिएको छ।

मन्त्रालयले फिल्ममा प्रयोग भएका दुई शब्दलाई ‘म्यूट’ गर्न र एउटा संवादमा परिवर्तन गर्न निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम तयार पारिएको फिल्मको नयाँ सम्पादित संस्करण आज अर्थात् जनवरी १ बाट विश्वभरका हलहरूमा देखाइने भएको छ।

बलिउड हंगामाको रिपोर्ट अनुसार, ‘३१ डिसेम्बरका दिन देशभरका सिनेमा हलहरूलाई वितरकको तर्फबाट एउटा इमेल प्राप्त भएको थियो। जसमा फिल्मको डिजिटल सिनेमा प्याकेज परिवर्तन गरिएको जानकारी दिइएको छ।’

म्यूट गरिएका शब्दहरूमध्ये एउटा ‘बलूच’ शब्द रहेको छ। मन्त्रालयको निर्देशन पालना गर्दै निर्माताहरूले यी परिवर्तनहरू गरेका हुन्।

आदित्य धरको निर्देशनमा बनेको यो फिल्म ५ डिसेम्बरमा विश्वव्यापी रूपमा प्रदर्शनमा आएको थियो।

फिल्ममा रणवीर सिंहका अलावा अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सञ्जय दत्त, राकेश बेदी, दानिस पन्डोरजस्ता कलाकारहरूको अभिनय रहेको छ।

व्यावसायिक रूपमा निकै सफल ‘धुरन्धर’ले हालसम्म विश्वभरबाट १ हजार १२८ करोड भारतीय रुपैयाँ (भारु)को कमाइ गरिसकेको छ।

त्यस्तै, भारतीय बक्स अफिसमा मात्रै फिल्मको कुल कमाइ ७२४.७५ करोड भारु पुगेको छ।

पुष १७, २०८२ बिहीबार १४:१५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।