‘भाईरल गोर्खे’मा सौगात र सृष्टिको जोडी

‘भाईरल गोर्खे’मा सौगात र सृष्टिको जोडी

काठमाडौं : लामो समय प्रेम सम्बन्धमा रहेर पनि विवाहको चर्चाकै बीच ‘ब्रेकअप’ भएका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ बुधबार एकै मञ्चमा देखिएका छन्। उनीहरू आफ्नो अभिनय रहेको आगामी फिल्म ‘भाईरल गोर्खे’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन्।

आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलर बुधबार काठमाडौंको रञ्जना हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरले फिल्मको मुख्य कथावस्तु उजागर गरेको छ।

ट्रेलरमा सामाजिक सञ्जालमा चर्चा कमाउन खोज्ने पात्र ‘भाईरल गोर्खे’ का रूपमा सौगात मल्लको सङ्घर्ष र अनौठा हर्कतहरूलाई देखाइएको छ।

फिल्ममा सौगातको जोडीको रूपमा सृष्टि श्रेष्ठ देखिएकी छन्। फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमला, रवि भुजेल र मिस पवीको पनि अभिनय रहेको छ।

फिल्मका निर्देशक निगम श्रेष्ठले विषयवस्तु समसामयिक र हरेक घरको कथासँग मिल्दोजुल्दो भएकाले दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए। उनले यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के-२’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेका छन्। सह-निर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल छन्।

लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनका रमणीय स्थानमा छायाङ्कन गरिएको फिल्मलाई अमर महर्जनले खिचेका हुन्। फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र बन्दे प्रसाद, रवि चौधरी तथा भीम विश्वकर्माको सम्पादन रहेको छ। फिल्मलाई सुनिल मानन्धरले वितरण गर्नेछन्।

पुष १७, २०८२ बिहीबार १२:०१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।