हलमा दर्शक नआउँदा हलवालामाथि खनिए पाँडे

हलमा दर्शक नआउँदा हलवालामाथि खनिए पाँडे

काठमाडौं : टेलिभिजन पर्दाका लोकप्रिय हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशकीय डेब्यु चलचित्र ‘झरीपछिको इन्द्रेणी’ बक्स अफिसमा कमजोर सावित भएको छ।

आफ्नो पहिलो चलचित्रले व्यावसायिक सफलता पाउन नसकेपछि निर्देशक घिमिरे हल सञ्चालकप्रति आक्रामक बनेका छन्, तर यथार्थमा भने हलमा शो हुँदाहुँदै पनि दर्शकले चलचित्रलाई नपत्याएको देखिएको छ।

दुई साताअघि प्रदर्शनमा आएको यस चलचित्रले शनिबारसम्म ६२ लाख रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ।

चलचित्रको व्यापार खस्कँदै गएपछि घिमिरेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै हलवालाहरूले ‘अपमानजनक व्यवहार’ गरेको र अपायक समयमा शो दिएको आरोप लगाएका छन्।

उनले दर्शकको हेर्ने इच्छा हुँदाहुँदै पनि शो नभएको दाबी गर्दै आफ्नो असफलताको दोष हल सञ्चालकको टाउकोमा थोपरेका छन्।

घिमिरेले बिहान ७ बजे र ११ वा राति ८ बजेजस्ता अपायक समयमा मात्र शो दिएको गुनासो गरिरहँदा राजधानीका प्रमुख मल्टिप्लेक्सहरूको तथ्याङ्कले भने अर्कै तस्बिर देखाएको छ।

नयाँ बानेश्वरस्थित आईएनआई मुभिज र कमलपोखरीको बिग मुभिजले निर्देशकले चाहेजस्तै साँझ ५ बजेपछिको ‘प्राइम टाइम’शो उपलब्ध गराएका छन्। तर, ती शोहरूमा समेत दर्शकको उपस्थिति (अकुपेन्सी) ३५ प्रतिशत पनि पुग्न सकेको छैन।

अन्य हलहरूमा पनि बुक गरिएका केही टिकटहरू पनि अन्तिममा बिक्री नहुनु र अन्य सामान्य शोहरूमा २० देखि ३० प्रतिशत अकुपेन्सी कटाउन पनि हम्मेहम्मे परेको देखिन्छ। यसले समस्या ‘शो’ को समयमा नभएर फिल्मको ‘कन्टेन्ट’मा रहेको प्रष्ट हुन्छ।

नेपाली चलचित्रलाई हलले विभेद गर्छ भन्ने घिमिरेको तर्कलाई ‘झरीपछिको इन्द्रेणी’ भन्दा दुई महिनाअघि रिलिज भएको चलचित्र ‘परान’को प्रदर्शनले खण्डन गरिदिएको छ। पुरानो भइसक्दा पनि ‘परान’ले पाएका केही शोहरूमा अकुपेन्सी सन्तोषजनक देखिन्छ।

व्यापार बढाउने प्रयासस्वरूप निर्माण पक्षले राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीलाई चलचित्र देखायो भने रास्वपाका सभापति र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ललितपुरको ज्वागलमा भएको वार्तास्थलमा पनि फिल्मले पोस्टर राखेर प्रचार गरे। तर, त्यसले पनि फिल्मको प्रचारमा तात्त्विक फरक देखिएको छैन।

पुष १७, २०८२ बिहीबार ११:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।