हलमा एक्लै आयो प्रदीपको ‘एक्लो-१’

हलमा एक्लै आयो प्रदीपको ‘एक्लो-१’

काठमाडौं : अभिनेता प्रदीप खड्काको मुख्य भूमिका तथा लगानी रहेको बहुप्रतिक्षित फिल्म ‘एक्लो-१’ आजबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ।

एक्सन, ड्रामा र भावनात्मक पक्षको समिश्रण भनिएको यो फिल्म यो साता हलमा रिलिज हुने एक मात्र नेपाली फिल्म हो।

यो साता नयाँ प्रदर्शनका रूपमा ‘एक्लो-१’ मात्र आए पनि हलमा भने यो पूर्ण रूपमा एक्लो भने छैन। यसअघि गत कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएका दीपक आचार्य निर्देशित ‘परान’ र अर्जुन घिमिरे निर्देशित ‘झरिपछिको इन्द्रेणी’ पनि प्रदर्शन भइरहेका छन्।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्य राखिएको निर्माण पक्षले जनाएको छ। निर्देशक शाहीले फिल्मको कथा, प्रस्तुति तथा प्राविधिक पक्षमा दर्शकले नयाँपन महसुस गर्ने दाबी गरेका छन्।

फिल्ममा अभिनेता प्रदीप खड्काका अलावा विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ तथा बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय रहेको छ।

विशेष आकर्षणका रूपमा फिल्ममा बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिका समावेश छ। एनआरएन समूहको लगानीमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ।

पुष १७, २०८२ बिहीबार १०:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।