टी-२० विश्वकपका लागि रासिद खानको कप्तानीमा अफगानिस्तानको टोली घोषणा
एजेन्सी : भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपका लागि अफगानिस्तानले रासिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ। विश्वकपअघि युएईमा वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको टी-२० शृङ्खलाका लागि पनि यही टोली चयन गरिएको छ।
घोषित टोलीमा बायाँ हाते तीव्र गतिका बलर फजलहक फारुकी, अफस्पिनर मुजिब उर रहमान र अलराउन्डर गुलबदिन नाइबले पुनरागमन गरेका छन्। उनीहरू गत अक्टोबरमा भएको बंगलादेश भ्रमणका क्रममा टोलीमा थिएनन्।
यस्तै, काँधको चोटका कारण गत सेप्टेम्बरमा भएको एसिया कप गुमाएका तीव्र गतिका बलर नविन-उल-हक पनि टोलीमा फर्किएका छन्। मुजिब टोलीमा फर्किएपछि युवा मिस्ट्री स्पिनर एएम गजनफरलाई भने वैकल्पिक खेलाडीमा राखिएको छ।
सन् २०२४ को टी-२० विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको अफगानिस्तानले यसपटक पनि सोही लयलाई निरन्तरता दिने लक्ष्य राखेको छ। सन् २०२४ मा अफगानिस्तानले न्युजिल्यान्ड, वेस्ट इन्डिज, अष्ट्रेलिया र बंगलादेशजस्ता बलिया टोलीलाई पराजित गरेको थियो।
अफगानिस्तान क्रिकेट बोर्डका सीईओ नसीब खानले एसियाली कन्डिसनमा खेल हुने भएकाले अघिल्लो संस्करणभन्दा अझ राम्रो नतिजाको अपेक्षा गरिएको बताएका छन्। वेस्ट इन्डिजसँगको शृङ्खलाले विश्वकपको तयारीका लागि ठूलो मद्दत पुग्ने उनको भनाइ छ।
अफगानिस्तानले वेस्ट इन्डिजविरुद्ध जनवरी १९ देखि २२ सम्म शृङ्खला खेल्नेछ। विश्वकपमा भने अफगानिस्तान समूह ‘डी’ मा परेको छ, जहाँ न्युजिल्यान्ड, दक्षिण अफ्रिका, युएई र क्यानडा रहेका छन्। विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा चेन्नाईमा न्युजिल्यान्डविरुद्ध खेल्नेछ।
अफगानिस्तानको टोली:
रासिद खान (कप्तान), इब्राहिम जाद्रान (उपकप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), मोहम्मद इसाक (विकेटकिपर), सेदिकुल्लाह अटल, दरविश रसुली, सहिदुल्लाह कमल, अजमतुल्लाह ओमरजाई, गुलबदिन नाइब, मोहम्मद नाबी, नुर अहमद, मुजिब उर रहमान, नविन-उल-हक, फजलहक फारुकी र अब्दुल्लाह अहमदजाई।
वैकल्पिक खेलाडी:
एएम गजनफर, इजाज अहमदजाई र जिया उर रहमान शरिफ।
पुष १७, २०८२ बिहीबार १०:४१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।