सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट घाइते वृद्धको उपचारका क्रममा मृत्यु

सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट घाइते वृद्धको उपचारका क्रममा मृत्यु

सिन्धुपाल्चोक : बलेफी गाउँपालिकामा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

मंसिर २८ गते ट्रकको ठक्करबाट घाइते भएका बलेफी गाउँपालिका-१ टाडी बस्ने ८५ वर्षीय अष्ठबहादुर श्रेष्ठको बुधबार राति काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार गत मंसिर २८ गते दिउँसो सवा ३ बजेतिर बलेफी गाउँपालिका-१ बोक्से खोलास्थित बलेफी-तेम्बाथान सडक खण्डमा दुर्घटना भएको थियो।

तेम्बाथानबाट बलेफीतर्फ जाँदै गरेको ना ७ ख २०४१ नम्बरको खाली ट्रकले पैदल यात्री श्रेष्ठलाई ठक्कर दिएको थियो।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय जलबिरेको टोलीले घाइतेको उद्धार गरी साङबोटे स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गराएको थियो।

बायाँ खुट्टामा चोट लागेका उनलाई थप उपचारका लागि सोही दिन साँझ काठमाडौंस्थित ट्रमा सेन्टर पुर्याइएको थियो। करिब १८ दिनदेखि उपचाररत श्रेष्ठको बुधबार राति ११:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१२ बस्ने २७ वर्षीय सौगात राईलाई प्रहरीले दुर्घटना लगत्तै नियन्त्रणमा लिएको थियो। मृतकको शव हाल अस्पतालमै राखिएको छ।

पुष १७, २०८२ बिहीबार १०:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।