दुषित पानीको मानिसको मृत्यु भएकोबारे प्रश्न गर्दा मन्त्रीले आपत्तिजनक शब्द बोलेपछि...
एजेन्सी : भारतको सबैभन्दा सफा सहरको सूचीमा पर्ने इन्दौरको भागीरथपुरा क्षेत्रमा दूषित पानी पिउँदा भएको हताहती र त्यसपछि मन्त्रीको विवादित अभिव्यक्तिले यतिखेर चर्चा पाएको छ। दूषित पानीका कारण केही मानिसको मृत्यु भएको छ भने सयौँ जना गम्भीर बिरामी परेका छन्।
मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले बुधबार यस घटनामा चार जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरेका छन्। यद्यपि, विभिन्न सञ्चारमाध्यमका रिपोर्टहरूमा मृत्यु हुनेको सङ्ख्या १० सम्म पुगेको दाबी गरिएको छ।
मुख्यमन्त्री यादवका अनुसार हालसम्म २१२ जना बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये ५० जना निको भएर घर फर्किसकेका छन् भने १६२ जनाको अझै उपचार भइरहेको छ। उपचाररत बिरामीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।
पत्रकारको प्रश्नमा मन्त्रीको अभद्र टिप्पणी
यस दुखद् घटनाका विषयमा प्रश्न सोध्दा स्थानीय विधायक तथा मध्य प्रदेशका क्याबिनेट मन्त्री कैलाश विजयवर्गीयले पत्रकारमाथि आपत्तिजनक शब्द प्रयोग गरेपछि उनको चर्को आलोचना भएको छ।
बुधबार एनडीटीभीका पत्रकार अनुराग द्वारीले मन्त्री विजयवर्गीयलाई ‘धेरै मानिसले उपचारको पैसा फिर्ता पाएका छैनन् र खानेपानीको व्यवस्थापन ठीक छैन’ भनी प्रश्न सोधेका थिए।
जवाफमा मन्त्री विजयवर्गीयले झर्किँदै भने, ‘छोड यार, तिमी फोकट (बेकार) का प्रश्न नसोध।’ त्यसपछि पत्रकारले आफ्नो कुरा राख्न खोज्दा मन्त्रीले थप ‘क्या होगया तुम, घण्टा होगया’ भन्दै आपत्तिजनक भाषाको प्रयोग गरेका थिए।
यद्यपि, घटनाको केही समयपछि नै मन्त्री विजयवर्गीयले आफ्नो बयानप्रति खेद प्रकट गर्दै स्पष्टीकरण दिएका छन्।
स्मरण रहोस्, मध्य प्रदेश सरकारले दूषित पानीबाट बिरामी परेकाहरूको निःशुल्क उपचार गर्ने र जसले उपचारमा पैसा खर्च गरेका छन्, उनीहरूलाई रकम फिर्ता गर्ने घोषणा गरेको थियो।
पुष १७, २०८२ बिहीबार ०८:२२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।