भारतको सबैभन्दा ठूलो एयरलाइन्स ‘इन्डिगो’ माथि ४५८ करोड भारुको जरिवाना

भारतको सबैभन्दा ठूलो एयरलाइन्स ‘इन्डिगो’ माथि ४५८ करोड भारुको जरिवाना

एजेन्सी : भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगो एयरलाइन्सलाई करिब ४५८ करोड भारतीय रुपैयाँ (भारु) भन्दा बढी जरिवाना तिराइएको छ। दिल्ली साउथ कमिस्नरेटको केन्द्रीय वस्तु तथा सेवा कर विभागका अतिरिक्त आयुक्तले यो भारी जरिवाना लगाएका हुन्।

कम्पनीले मंगलबार जानकारी दिए अनुसार, यो जरिवाना सीजीएसटी ऐन, २०१७ को धारा ७४ अन्तर्गत आर्थिक वर्ष २०१८/१९ देखि २०२२/२३ सम्मको कर निर्धारणसँग सम्बन्धित छ।

जीएसटी विभागले विदेशी आपूर्तिकर्ताबाट प्राप्त क्षतिपूर्तिमा कर माग, ब्याज र जरिवाना लगाएको हो। साथै, विभागले कम्पनीको ‘इनपुट ट्याक्स क्रेडिट’ दाबीलाई पनि खारेज गरिदिएको छ। इन्डिगोमाथि कुल ४ अर्ब ५८ करोड २६ लाख भारु बराबरको जीएसटी माग गरिएको छ।

इन्डिगोले बाह्य कर सल्लाहकारहरूको रायका आधारमा यो जरिवानालाई गलत र आधारहीन बताएको छ। कम्पनीले यो आदेश कानुनविपरीत रहेको भन्दै अदालतमा चुनौती दिने जनाएको छ। इन्डिगोका अनुसार यो आदेशले कम्पनीको वित्तीय नतिजा वा उडान सञ्चालनमा कुनै ठूलो असर पार्ने छैन।

इन्डिगो कर विवादमा फसेको यो पहिलो पटक होइन। यसअघि गत मार्च ३० मा आयकर विभागले कम्पनीलाई ९४४.२० करोड भारुको जरिवाना पठाएको थियो भने गत जनवरी ६ मा भन्सार विभागले २.१७ करोड, फेब्रुअरी ५ मा जीएसटी विभागले १ १६ करोड र जनवरी १५ मा सीमा शुल्क विभागले २५ लाख भन्दा बढी जरिवाना लगाएका थिए।

करको बोझसँगै इन्डिगोले सञ्चालनमा पनि ठूलो चुनौती खेपिरहेको छ। पाइलटहरूको ड्युटी समयसम्बन्धी नयाँ नियम र क्रु मेम्बरको अभावका कारण नोभेम्बर र डिसेम्बरको सुरुमा कम्पनीका ५ हजारभन्दा बढी उडान रद्द वा ढिला भएका थिए।

यात्रुहरूको व्यापक गुनासोपछि नागरिक उड्डयन महानिर्देशनालयले इन्डिगोको हिउँदे उडान तालिकामा १० प्रतिशत कटौती गर्न निर्देशन दिएको छ।

पुष १६, २०८२ बुधबार ०८:१०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।