पुटिनको निवासमा ड्रोन आक्रमणको आरोप युक्रेनद्वारा खण्डन, ट्रम्प र पुटिनबीच फोनवार्ता

पुटिनको निवासमा ड्रोन आक्रमणको आरोप युक्रेनद्वारा खण्डन, ट्रम्प र पुटिनबीच फोनवार्ता

एजेन्सी : युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा ड्रोन आक्रमण गरेको भन्ने रुसी आरोपलाई ‘पूर्णतः झुटो’ भन्दै अस्वीकार गरेको छ।

रुसले आफ्नो राष्ट्रपतिको निवासमा आक्रमण प्रयास भएको दाबी गर्दै शान्ति वार्ताको अडान परिवर्तन गर्ने चेतावनी दिएपछि युक्रेनले त्यसको कडा खण्डन गरेको हो।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले नोभगोरोड क्षेत्रमा रहेको पुटिनको ‘भाल्दाई’ निवासलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। उनले यस घटनामा कुनै क्षति नभएको भए पनि रुसले ‘जवाफी कारबाही’का लागि निसानाहरू तय गरिसकेको बताए।

लाभरोभले यो घटनाका कारण जारी शान्ति वार्तामा रुसको अडान परिवर्तन हुने चेतावनी समेत दिएका छन् । रुसले ९१ वटा ड्रोन खसालेको दाबी पनि गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहानै पुटिनसँग फोनमा कुराकानी भएको बताएका छन् । ट्रम्पका अनुसार पुटिनले फोनमा आक्रमणबारे जानकारी गराएका थिए।

फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई यो कुरा मन परेन। पुटिनले मलाई यसबारे बताउँदा म निकै रिसाएको थिएँ । कसैको घरमा आक्रमण गर्नु राम्रो कुरा होइन।’

यद्यपि, पत्रकारले ‘युक्रेनले अस्वीकार गरेको र आक्रमण नभएको हुनसक्ने’ सम्भावनाबारे सोध्दा ट्रम्पले भने, ‘त्यो पनि सम्भव छ, तर पुटिनले मलाई आक्रमण भयो भनेका छन्। हामी यसबारे सत्यतथ्य पत्ता लगाउनेछौँ।’

युक्रेन भन्छ- रुसले बहाना बनायो
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आरोपलाई पूर्ण रूपमा बनावटी भन्दै खारेज गरेका छन्। जेलेन्स्कीले ट्रम्पसँग फ्लोरिडामा भएको भेटवार्ता र कूटनीतिक प्रयासलाई कमजोर पार्न रुसले यस्तो हल्ला फैलाएको बताए।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘रुसले युक्रेनमा थप आक्रमण गर्न र युद्ध लम्ब्याउनका लागि यस्ता नक्कली कुराहरू फैलाइरहेको छ। विश्वका गुप्तचर संस्थाहरूसँग पक्कै पनि वास्तविक जानकारी होला।’

युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले पनि युक्रेनले रुसी भूभागमा रहेका वैध सैनिक निसानाहरूमा मात्र प्रहार गर्ने गरेको स्पष्ट पार्दै, रुसले आक्रमणको बहाना खोज्न यस्तो झुटो दाबी गरेको बताएका छन्।

पुष १५, २०८२ मंगलबार ०९:४९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।