आज तमु ल्होसार : गुरुङ समुदायको नयाँ वर्ष, देशभर हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं : गुरुङ समुदायको महान् चाड तथा नयाँ वर्ष ‘तमु ल्होसार’ आज देशभर विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। पर्वको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भन्ने हुन्छ । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने गरिन्छ।
पुस १५ गते वर्षकै सबैभन्दा लामो रात हुने र भोलिबाट दिन क्रमशः लामो हुँदै जाने भएकाले यसलाई नयाँ प्रकाश र ऊर्जाको प्रतीकका रूपमा लिइन्छ। सूर्यको ताप पहिले आउने भएकाले पहाडी र हिमाली भेगमा यो पर्व पुस महिनामै मनाउने चलन चलेको संस्कृतिविद्हरू बताउँछन्।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडिखेलमा विशेष महोत्सव आयोजना गरेका छन्। कार्यक्रममा गुरुङ समुदायका मानिसहरू आफ्नो परम्परागत वेशभूषामा सजिएर सहभागी भएका छन्।
त्यहाँ घाटु, सोरठी, कौडा लगायतका मौलिक नृत्य र झाँकीहरू प्रस्तुत गरिनुका साथै सेलरोटी, अचार जस्ता मौलिक परिकारहरूको स्टल राखिएको छ।
गुरुङ समुदायको बाहुल्य रहेका गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, मनाङ, मुस्ताङ र पर्वत लगायतका जिल्लामा बिहानैदेखि आफन्त तथा नातागोता भेला भई शुभकामना आदान-प्रदान तथा भोज खाएर यो पर्व मनाइँदैछ।
धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार यो पर्वले अन्धकारलाई चिर्दै उज्यालोतर्फ अघि बढ्ने सन्देश दिन्छ। तमु ल्होसारले आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
पुष १५, २०८२ मंगलबार ०९:१९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।