देशभर पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

देशभर पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु, पहाडमा आंशिक बदली
तस्बिर- संयोग नेपाल/उकेरा

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानको मौसममा सामान्य परिवर्तन देखिएको छ।

विशेषगरी तराई क्षेत्रको जनजीवन हुस्सु र कुहिरोका कारण प्रभावित हुने देखिएको छ।

आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। देशका अन्य बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

आज राति पनि तराईका अधिकांश स्थानहरूमा हुस्सु कायमै रहनेछ। राति बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

चिसो मौसम र तराईमा लाग्ने हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन र यात्रामा पर्न सक्ने असरप्रति सतर्क रहन समेत विभागले आग्रह गरेको छ।

पुष १५, २०८२ मंगलबार ०८:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।