‘झरीपछिको इन्द्रेणी’ले बक्स अफिसमा ‘हर्ष’ र ‘अभिमन्यु’लाई उछिन्यो, १८ करोड चुम्न ‘परान’ संघर्षरत

‘झरीपछिको इन्द्रेणी’ले बक्स अफिसमा ‘हर्ष’ र ‘अभिमन्यु’लाई उछिन्यो, १८ करोड चुम्न ‘परान’ संघर्षरत

काठमाडौं : नेपालकै सर्वाधिक सफल फिल्मका निर्मातादेखि स्थापित अभिनेतासम्मको साख यति बेला बक्स अफिसमा धरमराएको छ। चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्क अनुसार राम्रो व्यापार गर्ने अपेक्षा गरिएका 'हर्ष', 'अभिमन्यु' जस्ता फिल्मको व्यापार निकै निराशाजनक देखियो। 

अर्कोतर्फ 'परान' १८ करोडको ऐतिहासिक आँकडा चुम्न केही लाखको संघर्ष गरिरहेको छ। गत कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले १७ करोड ६७ लाख ग्रस कलेक्सन गरेको छ। गत साताभन्दा ६ लाख बढी ग्रस कलेक्सन थपिएको हो। 

शनिबार राति १२ बजेसम्ममा यो फिल्मको ६ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएको छ। दीपक आचार्यको निर्देशक तथा कथामा निर्माण भएको यो फिल्ममा नीर शाह, अञ्जना बराइली, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतका कलाकारहरूले अभिनय गरेका छन्। 

त्यसैगरि खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म‘हर्ष’ले २८ लाख ७८ हजार ग्रस कलेक्सन गर्न सफल भएको छ। ८ हजार ८६८ टिकट बिक्री भएको यो फिल्मले ३० लाख पनि ग्रस कलेक्सन गर्न सकेन। एकता पौडेलको निर्देशन तथा निर्माणमा बनेको यो फिल्ममा खगेन्द्र र वर्षाका अलवा नीर शाह, सन्तोष पन्तलगायतको पनि अभिनय रहेको छ। यो फिल्म मंसिर १२ गतेबाट हलमा प्रदर्शनमा आएको हो। 

त्यसैगरि नेपालकै इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्म ‘पूर्णबहादुर सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको फिल्म‘अभिमन्यु’को ग्रस कलेक्सन निकै निराशाजनक छ। फिल्मले शनिबार रातिसम्म चलचित्र विकास बोर्डको बक्स अफिसमा २१ लाख ५० हजार ४०२ नेरु ग्रस कलेक्सन गर्न सफल भएको छ। यसले अहिलेसम्म ६ हजार ८६१ वटा टिकट बिक्री भएका छन्।

गत मंसिर १८ गतेबाट प्रदर्शनमा आएको यस फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेका छन्। उनीहरूका अलवा यस फिल्ममा किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ लगायतले अभिनय गरेका छन्। फिल्मलाई गायक तथा संगीतकार सुशान्त गौतमले निर्देशन गरेका हुन्। 

दश वर्षपछि फिल्म निर्देशनमा फर्किएका शोभित बस्नेत निर्देशित ‘पीआर’ले ६ लाख ७५ हजार ग्रस कलेक्सन गर्न सफल भएको छ। म्ंसिर २६ गतेबाट हलमा लागेको यो फिल्मको २ हजार १ सय ४१ टिकट बिकेका छन्। नवकलाकार राखेर निर्माण भएको यो फिल्ममा सुरज पौडेल, विनीता कार्की लगायतले अभिनय गरेका छन्। जुन फिल्म निर्देशक बस्नेतको अहिलेसम्मकै कमजोर व्यवसाय गर्ने फिल्म बनेको छ। 

म्युजिक भिडियोका मोडल सुरज गहतराजको मुख्य भूमिका रहेको फिल्म ‘लोकन्ती’ले ४ लाख १२ हजार ५४० ग्रस कलेक्सन गरेको छ।  द्यमन रुपाखेती लगायतको अभिनय रहेको यस फिल्मको टिकट १ हजार ४ सय २१ बिक्री भए। यो फिल्म गत मंसिर २६ गतेबाट नै प्रदर्शनमा आएको थियो। 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म‘झरीपछिको इन्द्रेणी’ले प्रदर्शनको ९ दिनमा ६२ लाख ६९ हजार ४७५  ग्रस कलेक्सन गरेको छ। १९ हजार ७९३ वटा टिकट बिकेको फिल्मको कमाई अघिल्ला प्रदर्शनरत फिल्मभन्दा राम्रो हो। 

अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा निर्माण भएको यो फिल्ममा निर्देशक आफै अभिनयमा रहेका छन्। उनका अलवा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी), विमोचन दवाडी लगायतले अभिनय गरेका छन्। प्रचारप्रसारमा कन्ज्युँस्याई गरेको यो फिल्मले हलमा न्यून शो पाएको थियो। निर्देशक घिमिरेले हलमा शो पाएको अनुसार यो राम्रो ग्रस कलेक्सन हो भन्दै सामाजिक सञ्जालमा दुखेको पोखेका थिए।

यो वर्षकै सबैभन्दा कमजोर ग्रस कलेक्सन गर्ने फिल्म ‘चिराग’ परेको छ। यस फिल्मको ३ सय ३० वटा टिकट बिक्री भएको छ भने ग्रस कलेक्सन ६८ हजार रुपैयाँ रहेको छ। यो फिल्मको ग्रस कलेक्सन गत हप्ताको भन्दा एक पैसा पनि बढेको छैन।

त्याग मूर्तिको लेखन तथा निर्देशन रहेको यो फिल्म गत मंसिर ५ गतेबाट हलमा प्रदर्शनमा आएको छ। फिल्ममा निर्देशक आफै अभिनयमा उत्रिएका छन्। उनका अलवा फिल्ममा सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेशप्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय छ। फिल्मलाई संकला गौतम, नरेश प्रसाद भट्ट र निर्देशक आफैले लगानी गरेका छन्। 

पुष १४, २०८२ सोमबार १४:५७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।