ट्रम्प र जेलेन्स्कीको भेटवार्ता, शान्ति योजनामा ९० प्रतिशत सहमति भएको दाबी
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फ्लोरिडामा भएको भेटवार्तालाई दुवै नेताले उत्कृष्ट र शानदार बताएका छन्।
जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा ९० प्रतिशत सहमति जुटिसकेको छ। यस्तै, ट्रम्पले पनि युक्रेनको सुरक्षा ग्यारेन्टीको विषय करिब ९५ प्रतिशत टुंगिएको बताएका छन्।
तर, अमेरिकी राष्ट्रपति ट्रम्पले अझै एक वा दुईवटा अत्यन्त जटिल मुद्दा बाँकी रहेको स्वीकारेका छन्। उनका अनुसार जमिनसँग जोडिएको विषय नै अहिलेको सबैभन्दा कठिन मुद्दा बनेको छ।
साथै, डोनबास क्षेत्रमा स्वतन्त्र व्यापार क्षेत्र बनाउने विषयमा पनि अहिलेसम्म सम्झौता हुन सकेको छैन।
पत्रकार सम्मेलनमा एक पत्रकारले ‘युक्रेनको पुनर्निर्माणमा रुसको पनि कुनै जिम्मेवारी हुन्छ कि?’ भनी सोधेको प्रश्नमा ट्रम्पले रुसले यसमा मद्दत गर्ने बताए।
उनले भने, ‘रुस युक्रेन सफल भएको हेर्न चाहन्छ।’
ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको सफलता हेर्ने इच्छाप्रति निकै उदार देखिएका छन्। यसमा 'निकै सस्तो मूल्यमा ऊर्जा, बिजुली र अन्य सामग्रीको आपूर्ति' पनि समावेश हुने ट्रम्पको भनाइ छ।
यद्यपि, ट्रम्पले पुटिन तत्काल युद्धविरामका लागि सहमत नभएको पनि स्पष्ट पारे। ‘लडाइँ रोकेर फेरि सुरु गर्ने पक्षमा पुटिन छैनन्,’ ट्रम्पले भने, ‘म उनको यो अडानलाई बुझ्छु।’
युद्ध कहिले सकिएला भन्ने प्रश्नमा ट्रम्पले यो केही हप्ताभित्रै अन्त्य हुन सक्ने वा नहुन पनि सक्ने बताए। उनले भने, ‘केही हप्तामै हामीलाई थाहा हुनेछ कि यो कुन दिशामा अघि बढ्छ।’
पुष १४, २०८२ सोमबार १२:१७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।