सुटिङका क्रममा खुट्टा भाँचिएपछि निर्देशक साजिद खान अस्पताल भर्ना
एजेन्सी : बलिउडका चर्चित फिल्म निर्देशक साजिद खान सुटिङका क्रममा दुर्घटनामा परी घाइते भएका छन्।
एकता कपुरको फिल्मको सेटमा सुटिङ चलिरहँदा यो दुर्घटना भएको हो। दुर्घटनामा उनको खुट्टा भाँचिएको छ, जसका कारण उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार, आइतबार चिकित्सकहरूले साजिदको खुट्टाको शल्यक्रिया गरेका छन्। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।
साजिदकी दिदी तथा फिल्म निर्माता फराह खानले उनको स्वास्थ्यबारे जानकारी दिँदै भनिन्, ‘शल्यक्रिया सम्पन्न भइसकेको छ र अहिले साजिद बिल्कुल ठीक छन्।’
परिवारका अनुसार साजिदको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको छ।
गत महिना नोभेम्बर २३ मा मात्र साजिदले आफ्नो ५५औं जन्मदिन परिवार र नजिकका साथीहरूसँग मनाएका थिए।
उक्त अवसरमा फराह खानले सामाजिक सञ्जालमा साजिदले केक काटिरहेको र साथीहरूले गीत गाइरहेको भिडियो सेयर गर्दै शुभकामना दिएकी थिइन्।
पुष १४, २०८२ सोमबार ११:५९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।